२१ असार २०८३, आइतबार
सरसर्ती २४ घण्टा

बालेनको निर्णयमा अदालतको ब्रेक, कार्यशैलीमाथि प्रश्न उठाउँदै सल्लाहकारद्वारा राजीनामा

असार ७, २०८०
काठमाडौं
बालेनको निर्णयमा अदालतको ब्रेक, कार्यशैलीमाथि प्रश्न उठाउँदै सल्लाहकारद्वारा राजीनामा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई हिसान शैक्षिक मेला नरोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गाना र रमेश ढकालको संयुक्त इजलासले बुधबार उक्त शैक्षिक मेला नरोक्न आदेश जारी गरेको उच्च अदालत पाटनका प्रवक्ता तथा उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन् ।

गत जेठ ३२ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त शैक्षिक मेला मेयर बालेन शाहको निर्देशनमा काठमाडौँ महानगरपालिकाले विभिन्न कारण देखादै बन्द गराएको थियो । त्यसका विरुद्धमा उच्च माध्यमिक विद्यालय एशोसिएसन (हिसान) ले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

यसैगरी काठमाडौँ महानगर भित्रका हलहरूमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहको निर्णय विरुद्ध चलचित्र सङ्घ अदालत पुगेको छ । सङ्घले बुधवार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
००००
यसैगरी  शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै शिक्षा सल्लाहकार रेशु अर्याल ढुंगानाले पदबाट राजीनामा दिएकी छन् । मेयर शाहले लिएका पछिल्ला निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएको भन्दै उनले बुधवार राजीनामा दिएकी हुन् । 
गत भदौमा महानगरको कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेको थियो ।
००००
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार महानगरपालिकाका मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १० वटा महानगर गौरवका योजना र केही स्वर्णिम योजना सार्वजनिक गरिएको छ ।

महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने तीन वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ ।
यस्तै सेवा प्रवाहको समय बढाउनेसहितका महत्त्वपूर्ण कार्यक्रम समेत समेटिएको छ । यसैगरी काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ ।
००००
ललितपुर महानगरपालिकाले आयोजना बैंक, श्रम बैंकदेखि क्लिनिङ एम्बुलेन्ससम्मको व्यवस्था गरी वार्षिक कार्यक्रम सञ्चालन गर्ने नीति लिने भएको छ ।
आर्थिक वर्ष २०८०–८१ का लागि महानगर प्रमुख चिरीबाबु महर्जनले नगरसभामा पेस गरेको वार्षिक नीति तथा कार्यक्रममा आयोजना बैंकको तर्जुमा गर्ने, नागरिकका गुनासा तत्कालै सम्बोधन गर्नेगरी क्लिनिङ एम्बुलेन्सको अवधारणा लागू गर्ने विषयलाई समेटिएको छ ।
००००
वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्षका लागि रु तीन अर्ब २१ करोडको अनुमानित बजेट ल्याएको छ । 
महानगरपालिकाले  वीरगञ्जमा आयोजना गरेको १३औँ नगर अधिवेशमा महानगरपलिकाका उपप्रमुख इम्तियाज आलमलेरु तीन अर्ब २१ करोड ३५ लाख ४४ हजारको अनुमानित आयव्यायको बजेट प्रस्तुत गरेका हुन् ।
००००
प्रनितिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न चार मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको छ ।
बैठकमा युवा तथा खेलकुद, शिक्षा विज्ञान तथा प्रविधि, कानून न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा सांसदले भाग लिए ।
००००
सार्वजनिक सवारीसाधनको अन्तरप्रदेशीय बाटो इजाजत ‘रुट परमिट’ लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट लिन सकिने भएको छ । 
यसअघि रुट परमिट सङ्घीय सरकार मातहतमा रहेको बुटवल कार्यालयबाट मात्रै लिन पाउने व्यवस्था रहेको थियो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनपछि मन्त्रालयले सबै यातायात कार्यालयबाट बाटो इजाजत दिन परिपत्र गरेको छ ।
००००
दक्षिण एशियाली फूटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औं पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भारतको काँतीराव स्टेडियममा बुधवार भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो ।
००००
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले जनशक्तिको अभावमा राहदानी वितरण र मन्त्रालयको काम प्रभावित भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवार बसेको बैठकमा मन्त्री साउदले मन्त्रालयको देशभित्र र बाहिरको संरचनामा कर्मचारीको दरबन्दी संख्या कम हुँदा सेवा प्रभावित हुँदै आएको बताए ।
००००
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणका नयाँ भाडादर सार्वजनिक गरेको हो ।
००००
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
००००
गुण्डा नाइके दावा लामाका सहयोगी विरेन कुँवरसहित ४ जना ठगी गरेको आरोपमा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार कुँवरलाई जिल्ला प्रहरी कार्यालय रामेछापको सहयोगमा पक्राउ गरिएको हो । स्रोतका अनुसार कुँवर गुण्डा नाइके दावा लामाका सहयोगी हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योग र ध्यानको विषयलाई प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । 

बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानको महत्व, परम्परा र विरासतलाई आत्मसाथ गरेर सरकारले प्राथमिक तहदेखि नै विद्यालय र विश्वविद्यालयसम्म पाठ्यक्रममा समावेश गर्ने सरकारको तयारी रहेको बताए ।
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज १४ दशमलव ०५ अङ्कले घटेको नेप्से दुई हजार ५० दशमलव ७८ को बिन्दुमा पुगेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्