
नेपालको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गरी श्रीलंकन नागरिकहरूलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्यले सिद्धार्थ होटल संघ नेपाल (सान)को टोली नेपाल–श्रीलंका सेल्स मिसन २०२३ मा सहभागी हुन श्रीलंका प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटन व्यवसायी र सरकारी उच्च अधिकारीसहितको टोली मंगलवार श्रीलंका प्रस्थान गरेको हो ।
यही असार १२ देखि १७ गतेसम्म संघको आयोजनामा श्रीलंकामा हुने उक्त कार्यक्रममा नेपाल टुरिजम बोर्ड प्रवर्द्धकका रुपमा छ ।
पर्यटन प्रवर्द्धनका लागि श्रीलंकाको क्यान्डी र कोलम्बोमा कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा सहभागी हुन नेपाली टोली श्रीलंका प्रस्थान गरेको आयोजक सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए ।
श्रीलंकाका दुई शहरमा हुने कार्यक्रममा त्यहाँका ट्राभल एजेन्सीहरूसँग विजनेश टु विजनेश (बीटूबी) हुनेछ । शुरूमा असार १३ गते क्यान्डीमा कार्यक्रम तथा बीटूबी हुनेछ । त्यसमा श्रीलंकाका ५० बढी ट्राभल एजेन्सी, टुर अपरेटर र नेपाली पर्यटन व्यवसायीको सहभागिता रहनेछ ।
बीटूबीमा दुवै देशका व्यवसायीले आ–आफ्नो मुलुकको पर्यटन क्षेत्रको गन्तव्यहरूको जानकारी गराउनेछन् । साथै नेपाली व्यवसायीले बुद्ध जन्मस्थल लुम्बिनीसहित मुलुकका पर्यटकीयस्थलको प्रचारप्रसार, टुर प्याकेज बनाउन आग्रह गर्नुका साथै टुर अपरेटरमार्फत श्रीलंकाका नागरिकहरूलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नेछन् ।
त्यहाँ नेपाली प्रतिनिधि मण्डलले विशेष समारोहमा सम्बोधन गर्नेछन् भने भिडियोमार्फत नेपालको पर्यटकीयस्थलको प्रचारप्रसार गरिनेछ ।