२६ असार २०८३, शुक्रबार

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ११ जना भारतीय पक्राउ

असार १२, २०८०
कञ्चनपुर
अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ११ जना भारतीय पक्राउ
फाइल फोटो

अवैधरुपमा औषधि पसल सञ्चालन गर्दै आएका ११ भारतीय नागरिकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । 

दोधारा चादँनी नगरपालिकामा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ तथा भीमदत्त नगरपालिका–९ ब्रहमदेव र भीमदत्त–१३ साझा चौराहमा सञ्चालन गर्दै आएका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरी उपरीक्षक कमल थापाले प्रहरीको विशेष खोजअनुसन्धान टोलीले अनाधिकृत रुपमा औषधि पसल सञ्चालन गरी जनताको स्वास्थ्य माथि खेलवाड गर्ने र स्वास्थ्यमा जोखिम पर्ने खालका औषधि बिक्री वितरण गर्दै आएका भारतीय नागरिकलाई पक्राउ गरी कानूनी कारवाही अघि बढाइएको जानकारी दिए ।

“विनाअनुमती यहाँ आएर चिकित्सक भन्दै औषधि पसल सञ्चालन गरेको पाइएपछि कारवाही प्रक्रिया अघि बढाएका हौं”, उनले भने– “कानूनी कारवाहीका लागि अनुसन्धान गरी अभियोजन पत्र सरकारी वकिल कार्यालयमा पेश गरेका छौं ।”

पक्राउ पर्नेमा भारतको उधमसिंहनगर खटिमाका २६ वर्षीय सञ्जय विश्वास, भारतको पिलिभित नौजलियाका ४६ वर्षीय राजेश विश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोष सरकार, पिलिभित रानिकलौनी पोष्ट मजौलाका ४४ वर्षीय सुन्धासु हल्दार, उधमसिंहनगर खटिमाका २३ वर्षीय रवि विश्वास,  खटिमाकै ३२ वर्षीय कार्तिक सरदार, ३८ वर्षीय निवास गाइन, ४९ वर्षीय निरञ्जन अधिकारी, २५ वर्षीय भूपेन्द्र पुरी, पिलिभित न्यूरियाका ३५ वर्षीय शान्तिरञ्जन बैरागी र नोदिया पोष्ट इटापुकुरका ३९ वर्षीय गोकुल मण्डल रहेका छन् । 

“औषधि पसलमै असुरक्षितरुपमा गर्भपतन समेत गरेको अनुसन्धान क्रममा पाइएको छ”, एसपी थापाले भने– “प्रहरीको खोजीकार्यपछि औषधि व्यवस्था विभागले पनि चासो देखाएको छ।” अनधिकृतरुपमा औषधि पसल सञ्चालन गर्ने अन्यको पनि खोजी थालिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्