
कास्कीको पोखरा महानगरपालिकाले उत्पादनका आधारमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा दिने भएको छ ।
महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आवदेखि कृषि उत्पादन सामग्री र यन्त्र उपकरण वितरण गर्दा प्राथमिकताका आधारमा लगानी परिचालन गर्न उत्पादनका आधारमा कम्तीमा ७० प्रतिशत अनुदान कृषि क्षेत्रमा वर्गीकृत भूमिलाई दिने व्यवस्था गरिने बताइन् ।
भूउपयोग ऐन र नियमावली बमोजिम पोखरा महानगरपालिकाले स्थानीय भू–उपयोग परिषद्बाट कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण गरेको छ । सिँचाइ सुविधा वृद्धि गरी उत्पादन बढाउनका लागि सिँचाइ कुलो निर्माण तथा मर्मतका लागि साना सिँचाइ कार्यक्रममा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । भिरालो पाखो जमिनमा आकाशे पानी संकलन गर्न प्लास्टिक पोखरी निर्माणका लागि विशेष प्राथमिकता दिइने बजेटमा उल्लेख छ ।
आगामी वर्ष कृषियन्त्र उपकरण मर्मत अभियान सञ्चालन गरिने बताउँदै उपप्रमुख गुरुङले त्यसका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताइन् । व्यावसायिक कृषि उत्पादन कार्यक्रमअन्तर्गत सुन्तला बगैंचा व्यवस्थापन अभियान, मल, बीउ, बिरुवा लगायत कृषि सामग्री व्यवस्थापन, आलु उत्पादन कार्यक्रम, हिउँदे बाली अभियान, चैतेधान प्राविधिक सहयोग कार्यक्रम, माछापोखरी क्षेत्र विस्तारजस्ता कार्यक्रमका लागि १ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताइन् ।
स्थानीय कृषि उत्पादनको न्यूनतम समर्थन मूल्यमा थप वस्तुको न्यूनतम मूल्य तोकी कृषकलाई प्रोत्साहन दिने उद्देश्यले समर्थन मूल्यभन्दा न्यून हुन आउने मूल्य अनुदान दिनका लागि महानगरले ६० लाख रुपैयाँ विनियोजन गरेको छ ।
स्थानीय कृषि उपजहरूको संकलन गरी उपभोक्तासमक्ष पुर्याउन सञ्चालनमा आएको कृषि एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । थप स्थानमा किसान हाटबजार निर्माण, मेला, महोत्सव सहयोग लगायतका प्रवर्द्धनात्मक कार्यक्रमका लागि १ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताइन् ।