
५० लाख दाइजो माग्ने अमेरिकी ग्रीनकार्ड होल्डर अनुराग रौनियारलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
प्रहरी वृत मालीगाउँमा हिजो बेलुका बेहुलीका बुवाले किटानी जाहेरी दिएपछि सुनसरी दुहवी नगरपालिका–६ घर भई काठमाडौंको ताहचल बस्ने ३२ वर्षीय रौनियारलाई प्रहरीले मंगलवार पक्राउ गरेको थियो ।
प्रहरी वृत मालिगाउँका डीएसपी अनथि कर्णका अनुसार बेहुलीका बुवाले विवाहका लागि पटक–पटक गरेर २२ लाख रुपैयाँ दिएका थिए । थप ५० लाख रुपैयाँ माग गरेपछि प्रहरीमा जाहेरी दिन आएको बताए । ‘दाइजो माग गरेको भन्दै बेहुलालाई हिजो पक्राउ गरेका हौं । म्याद थप गरेका छौं अब थप अनुसन्धान हुँदैछ,’ डीएसपी कर्णले लोकान्तरसँग भने ।
प्रहरीका अनुसार अमेरिकामा उनको घर र ग्रीनकार्ड भएको खुलेको छ । आरोपित अनुराग नेपालमा आइएस्सी पास गरेर अमेरिका गएका थिए ।
बेहुलीले नेपालमा ब्याच्लर पास गरेकी छिन् । उनीहरूको जेठ १३ गते इन्गेजमेन्ट भएको थियो ।
‘जेठ १३ गते इन्गेजमेन्ट भएको देखिन्छ । केटी पक्षले त्यसभन्दा अगाडि र पछाडि पटक–पटक गरेर २२ लाख रुपैयाँ दिएको देखिएको छ, थप अनुसन्धान भइरहेको छ,’ डीएसपी कर्णले लोकान्तरसँग भने ।
काठमाडौंको नक्सालमा रहेको लिसरा रिसेप्सन पार्टी प्यालेसमा मंगलवार विवाह तय भएको थियो । केटा पक्षले थप ५० लाख रुपैयाँ मागेपछि विवाद भएको थियो ।
विवाह मण्डपमै अनुरागको परिवारले पैसा मागेपछि विवाद उत्पन्न भएको र बेहुलीलगायत उनका परिवारलाई गालीगलौज गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले मुलुकी अपराध संहिता–२०७४ को दफा १७४ को उपदफा १ मा रहेको व्यवस्था विवाहसम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
यस कसुरमा ३ वर्ष कैद वा तीस हजार रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
दफा १७४ उपदफा १ बमोजिम विवाहमा लेनदेन गर्न नहुने भनिएको छ । जसमा ‘आफ्नो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक विवाह गर्ने दुलहा वा दुलहीका तर्फबाट कुनै किसिमको चल, अचल, दाइजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखी विवाह गर्न वा गराउन हुँदैन,’ भनिएको छ ।