०७ साउन २०८३, बिहीबार

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री महत

असार १३, २०८०
काठमाडौं
नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा सांसदहरूले प्रश्न उठाएको विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताए । उनले आलुमा मुलुक आत्मनिर्भरतातर्फ उन्मुख भएको भन्दै प्याजमा पनि आत्मनिर्भर बनाउनका लागि मूल्य अभिवृद्धिकर भ्याटको व्यवस्था गरिएको बताए ।

उनले मुलुकभित्र आलु–प्याज उत्पादन गर्ने उत्पादकहरू साना–साना रहेको भन्दै व्यावसायिक रूपमा एउटैले उत्पादन गर्न नसक्ने अवस्था रहेको बताए । उनले आन्तरिक उत्पादनका सप्लायर्सहरू पनि साना रहेकाले उनीहरू भ्याटको दायरामा आउनसक्ने बताए । अर्थमन्त्री महतले कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरूको समूह रहेको बताए ।

उनले गोलभेडा नेपालमा उत्पादन हुँदाहुँदै पनि उपभोक्ताले कम पाइरहेको अवस्थामा उत्पादकहरूले सडकमा फालिरहेको बताए । उनले कालिमाटीमा बिचौलियाका कारण मुलुकभित्रको उत्पादनले प्रवेश नपाउने तर बाहिरबाट आएकाले सर्सर्ति प्रवेश पाउने अवस्था रहेको बताए । उनले मुलुकभित्रका साना–साना उत्पादन गर्नेहरूलाई यो भ्याट नलाग्ने बताए ।

उनले विदेशको सामान आयात गरेर सामान खरिद गरेमा भ्याट लाग्ने बताए । उनले आलु प्याजमा लगाएको भ्याटले नेपाली उत्पादकहरूलाई हौसला दिने दाबी गरे ।

उनले भने, ‘मुलुक आलुमा आत्मनिर्भरतातर्फ अघि बढ्दै गएको छ । प्याजमा पनि आत्मनिर्भरतातर्फ जानैपर्छ । त्यसो हुनाले हामीले मूल्य अभिवृद्धिकर भ्याटमार्फत आलु प्याजलाई आत्मनिर्भरतामा लैजान खोजेको हो । एकातिरबाट अनुदान सहुलियत, अर्को तर्फबाट भन्सारमा भ्याट लगाउँछौं । प्रश्न उठेको छ, आन्तरिक उत्पादनमा पनि लाग्ने भयो नि ? सरकारको अहिले पनि उत्पादकहरू साना–साना छन् । व्यावसायिक रूपमा एउटैले उत्पादन गर्दैन । सप्लायर्स पनि साना–साना छन् । किसानहरू धादिङ, काभ्रे, नुवाकोटका उत्पादन काठमाडौंमा खपत हुन्छ । उनीहरू भ्याटको परिधिभित्र आउँदैनन् । कालिमाटी तरकारी बजारमा विदेशबाट आयात हुने व्यवसायीहरूको समूह छ । उनीहरूले गोलभेडा नेपालमा उत्पादन हुँदाहुँदै पनि उपभोक्ताले कम पाइरहेको छ । उत्पादकहरूले सडकमा फालिरहेका छन् । त्यहाँ याक्सेसमा समस्या छ । उनीहरूको बलियो नेटवर्क छ । त्यसले गर्दा मुलुकभित्रको उत्पादनले प्रवेश पाउँदैन । बाहिरबाट आएको सर्सति प्रवेश गर्छ । मुलुकभित्र नै साना–साना उत्पादन गर्नेहरूलाई यो भ्याट लाग्दैन । विदेशको सामान आयात गरेर सामान खरिद गर्छ भने भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जसले किन्छ । डिपार्टमेन्ट स्टोरमा किन्नेहरूले नेपाली उत्पादन किने भने पनि भ्याट लाग्छ । डिपार्टमेन्ट स्टोरमा जाने अलि हैसियत भएको मानिस नै जान्छ । साना–साना पसलहरूमा कुनै भ्याटको व्यवस्था छैन । भ्याटको परिधिमा पर्ने डिपार्टमेन्ट स्टोरबाहेक अन्य कुनैमा लाग्दैन । यो भ्याटले नेपाली उत्पादकहरूलाई हौसला दिन्छ । यो व्यवस्थाले आम उपभोक्तालाई समस्या पर्दैन ।’
 

salt training

कमेन्ट गर्नुहोस्