०३ साउन २०८३, आइतबार

प्रशासन सुधार कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले भने – सुझावलाई कार्यान्वयन गर्दै लैजान्छौं

असार १३, २०८०
काठमाडौं
प्रशासन सुधार कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले भने – सुझावलाई कार्यान्वयन गर्दै लैजान्छौं

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रदेश सरकारले चार महिनाअघि गठन गरेको प्रशासन सुधार कार्यदलले एक समारोहका बीच प्रतिवेदन बुझाएको छ ।
     
कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदनमार्फत दिएका राय सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले कार्यदलले दिएको सुझाव कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवको महत्त्वपूर्ण भूमिका हुने जानकारी गराउँदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवलाई निर्देशन दिए ।


मुख्यमन्त्री कार्कीले सङ्घीयताको महत्त्वपूर्ण हिस्साका रूपमा प्रदेश सरकार रहेको स्मरण गराउँदै प्रदेश सरकारले सकारात्मक काम गर्दा पनि जनस्तरबाट नकारात्मक टिप्पणी हुनु दुःखद् भएको बताए । उनले प्रदेश संरचनाप्रति जनस्तरबाट विभिन्न प्रश्न उठिरहेका बेला कार्यदलमार्फत आएका सुझावले त्यसको समाधान दिने विश्वास व्यक्त गरे । 
    
कोशी प्रदेश सरकारले चार महिनाअघि २०७९ माघ ६ गते पूर्वसचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यमा पूर्वप्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहेका थिए ।

कार्यदलले चार महिना लगाएर तयार पारेको दुई सय २८ पृष्ठ लामो प्रतिवेदनमा एक सय ५२ सुझाव रहेका छन् । 

कार्यदलले बुझाएको प्रतिवेदन आज नै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई कार्यान्वयनका लागि हस्तान्तरण गरेका मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्