
नेपालमा प्रतिबन्धित अनलाइन जुवा वान एक्स बेटमा कलाकारहरूलाई संलग्न गराउने मुख्य व्यक्ति सरोज घिमिरे (ढेडु बुढो) भएको तथ्य खुलेको छ ।
उनले वान एक्स बेट तथा त्यसको प्रोमो कोड प्रमोसन गरेबापत कम्पनीबाट ४० लाख रुपैयाँ लिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका अर्का कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले १२ लाख रुपैयाँ बुझेको खुलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरलाई बताए ।
‘अहिले सरोजले ४० लाखसम्म लिएको र बल्छीले १२ रुपैयाँ लिएको देखिन्छ, अन्य भने हामीले बैंकलगायतका अनुसन्धान गरिरहेका छौं,’ ती अधिकारीले लोकान्तरसँग भने ।
प्रहरीका अनुसार पक्राउ परेका कलाकारहरूले पैसा आइरहेकाले प्रमोट गरेको स्वीकारेका छन् । आफूहरूलाई यो अवैध हो भन्ने जानकारी समेत नभएको उनीहरूको दाबी छ ।
सरोज उर्फ ढेडु बुढाले मरिचमान अर्थात बल्छीलाई आफूले पनि प्रमोट गरिरहेको र त्यसले कानूनी रूपमा खासै फरक नपर्ने भन्दै प्रमोट गर्न भनेको कुरा बाहिर आएको थियो ।
गएको जेठ ३२ गते प्रहरीले ५ जना कलाकारसहित ८ जनलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), एलिस राई, जलन घर्ती मगर, गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र बेगम नेपाली (भटभटे माइला) रहेका छन् ।
वान एक्स बेट र त्यसको प्रोमो कोड प्रचार गरेका उनीहरूले २ देखि ४० लाख रुपैयाँसम्म बुझेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
यही अभियोगमा काभ्रेको तेमाल– ८ का ‘भ्लगर’ २२ वर्षीय राजकुमार थापा भन्ने राजकुमार तामाङलाई पनि प्रहरीले पक्राउ गरेर असार १० गते सार्वजनिक गरेको छ ।
कलाकार तथा युट्युबरहरू पक्राउ पर्नुअघि मुख्य एजेन्ट भनिएका व्यक्तिहरू पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये कैलालीको लम्कीचुहा नगरपालिका– १० का २९ वर्षीय दिनेश खड्काले ६५ करोड ७७ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार गरेको र उनी मुख्यमध्येका एक एजेन्ट रहेको प्रहरीले बताएको थियो ।
२ करोड ९८ लाख ९६ हजार कारोबार देखिएका २४ वर्षीय आशिष लामिछानेले एकाउन्टेनको रूपमा काम गर्ने भएकाले उनी पनि ठूलामध्येको एक एजेन्ट भएको प्रहरीको दाबी थियो ।
प्रहरीले दिनेशकी श्रीमती काभ्रेको पाँचखाल नगरपालिका– ४ की २८ वर्षीया अनिता धिताल र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ का २७ वर्षीय दीपेश श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।
श्रेष्ठले ५ करोड ५४ लाख ६६ हजार रुपैयाँ कारोबार गरेको देखिएको प्रहरीले जनाएको थियो ।
५४ लाख रुपैयाँ कारोबार देखिएका कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का दिनेश चन्दलाई पनि पक्राउ गरी सार्वजनिक गरिएको थियो ।
५ जनाले ७४ करोड १३ लाख ५० हजार रुपैयाँ बराबर कारोबार गरेको देखिएको प्रहरीले दाबी गरेको थियो ।
प्रहरीले अब स-साना कारोबारीहरूलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।