२४ असार २०८३, बुधबार
अकुत सम्पत्ति आर्जन

निगमका पूर्व कार्यकारी निर्देशक खड्का दोषी ठहर, १५ महिना कैद, बिगोसहित १८ करोड जरिवाना

असार १५, २०८०
काठमाडौं
निगमका पूर्व कार्यकारी निर्देशक खड्का दोषी ठहर, १५ महिना कैद, बिगोसहित १८ करोड जरिवाना

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्का अकुत सम्पत्ति आर्जनको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रवार खड्कालाई १ वर्ष ३ महिना कैद तथा बिगोसहित १८ करोडभन्दा बढी जरिवाना हुने फैसला सुनाएको हो ।

९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ बराबर बिगो ठहर भई सोही बमोजिम जरिवाना समेत गरिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले लोकान्तरलाई जानकारी दिए ।

बिगो र जरिवाना गरी खड्काबाट कुल १८ करोड ३८ लाख १३ हजार २६८ रुपैयाँ असुलउपर हुनेछ । 

 विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल र सदस्य न्यायाधीशद्वय शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले आरोप पत्रमा दाबी गरिएअनुसार खड्काको बैंक मौज्दातमा रहेको रकम र घरजग्गा समेत जफत हुने फैसला गरेको योगीले बताए ।

उनकी श्रीमती शर्मिला खड्काको नाममा रहेको दुई कित्ता जग्गा र त्यसमा बनेको घर समेत जफत हुने फैसला भएको छ ।

यसका अलावा अमिता लामा सोदेम्बाको नाममा रहेको एउटा कित्ताको घरजग्गा समेत जफत हुने फैसला गरिएको योगीले जानकारी दिए ।

खडकाले ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।

त्यसअघि इन्जिनियरका रूपमा सेवा शुरू गरेदेखि सडक विभागको सुपरिन्टेन्डेन्ट इन्जिनियर (उपसचिवस्तर) बाट अवकाश हुँदासम्म उनले एक करोड २० लाख आर्जन गरेका थिए ।

उनले करिब साढे ४० लाख रुपैयाँ तलब बुझेकोमा जग्गा बिक्रीबाट ५८ लाख आम्दानी देखाएका छन् । घरभाडाबाट १३ लाख ५६ हजार बुझेको उल्लेख गरेका छन् ।

उनले ५ करोड ३३ लाखको ऋण सापटीलाई आर्जनका रूपमा व्याख्या गरेका थिए । खडकाको नाममा पुर्ख्यौलीबाहेक ३ वटा घर निर्माण र खरिद गरेको भेटिएको अख्तियारको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।

उनले २ वटा घर खरिदका लागि आंशिक भुक्तानी दिएका थिए । उपत्यकाका तीन जिल्लासहित काभ्रेका विभिन्न स्थानमा उनले ११ कित्ता जग्गा किनेको अभियोगपत्रमा उल्लेख गरिएको थियो ।

उनले घरजग्गामा मात्रै ११ करोड ६१ लाख रुपैयाँ लगानी गरेका थिए । एक करोड रुपैयाँको सेयर खरिद गरेका उनले ऋणको साँवा र ब्याज भुक्तानीमा ४ लाख २२ हजार खर्च गरेका थिए ।

एक करोड १७ लाख रुपैयाँको गाडी खरिद गरेका उनले विभिन्न बैंकबाट सुपरमार्केटहरूमा मात्रै एक करोड ८० लाख खर्च गरेका थिए । विभिन्न ५५ वटा बैंक, सहकारी र वित्तीय संस्थामा उनले २ करोड ७१ लाख बचत गरेका थिए ।

खडकाले अमिता लामा र श्रीमती शर्मिला खडकाको नाममा सम्पत्ति लुकाएका थिए । खडकाले अमिताको नाममा ७ करोड ५४ लाख ५७ हजार रुपैयाँ लुकाएका थिए ।

खडकाको काठमाडौंको महांकालस्थित सीजी डेभलपर्सले निर्माण गरेको घर ३ करोड २५ लाखको रहेको, त्यसमध्ये २० लाखबाहेक सबै भुक्तानी गरेको आरोप पत्रमा उल्लेख थियो ।

उनले रोड शो रियलस्टेटले निर्माण गरेको घर खरिदका लागि ८९ लाख ८९ हजार रुपैयाँ ‘गुड फर पेमेन्ट’ चेक समेत दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्