
दाङमा एक जना घरबेटी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ ।
पोखरेलको घरमा बसिरहेका पञ्चल देवल नपा–७ पुल्तोला अछाम हाल घोराही–१७ मा बस्दै आएका महेन्द्र विक र अदानचुली गापा–३ हुम्लाका अङ्गराज परियारलाई घर निकाला गरेको प्रहरीले जनाएको छ । “तिमीहरू कामी रहेछौं, घर बनाएदेखि दलितलाई छिर्न दिएको छैन । तिमीहरू घरमा आएदेखि म बिरामी छु भन्दै घरबाट निकालिदिनुभयो”, पीडित महेन्द्र विककी श्रीमती शान्ति विकले भनिन् ।
सोही घरमा परियारसँग तीन जना एउटा कोठामा बस्थे भने महेन्द्रको परिवार अर्को कोठामा बस्थे ।
शुक्रवार साँझ नै घरबेटीले त्यस्तो व्यवहार गरेको प्रहरीले बताएको छ । प्रहरीले जातीय छुवाछूतअन्तर्गत मुद्दा दर्ता गरी कारवाही गर्ने तयारी गरेको छ । घटना बाहिर आएपछि प्रेस सेन्टर दाङ, दलित पत्रकार सङ्घ दाङलगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै दोषीमाथि कारवाहीको माग गरेका छन् ।