
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।
बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ छ ।
मंगलवार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपंक्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि बैंक अतिआवश्यक रहेको बताए ।
ओलीले पहाडमा कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे । उनले नेपालमा ५ वर्षभित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकिर समेत गरे । त्यसका लागि कृषिमा आधुनिक औजारहरू, उन्नत स्तरको बीउबिजन, मल, सिँचाइको प्रबन्ध गर्नुपर्ने ओलीले बताए ।
उनले भने, ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रूपमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढी उपयोगी हुन्छ । पहाडमा सहकार्य नै काफी हुन्छ । सुन्तला यहाँ राम्रो हुन्छ । यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन् । कृषि उत्पादन ५ वर्षमा कम्तीमा ८० प्रतिशत बढाउन सकिन्छ । यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै ८० प्रतिशत कसरी हुन्छ ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पुर्याउन सकिन्छ ।’
अध्यक्ष ओलीले नेपालमा कृषिका लागि सिँचाइको अभाव नहुने दाबी समेत गरे । उनले माटोलाई स्वस्थ राख्नका लागि प्रांगारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने बताए ।