
मोरङको बेलबारी नगरपालिका – ११ को सिर्जना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बू आफूविरुछ पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।
१७ लाख ५५ हजार रुपैयाँ हिनामिना गरेको भन्दै डिभिजन वन कार्यालय मोरङले १४ असारमा उनीविरुद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनी फरार भएका हुन् । ९५५ क्युफिट काठ घोटाला गरेको आरोप उनीमाथि छ । फरार भएका लिम्बूलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्राचार गरेको छ । तर प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गरेको छैन । डिभिजन वन कार्यालयले सूचना चुहावट गराएर भगाएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।
नक्कली कागजात बनाएर काठ बिक्री गरेको आरोप लिम्बूमाथि छ । डिभिजन वन कार्यालयले लिम्बूलाई सामुदायिक वनको काठ अनियमितता गरी विक्री वितरण गरेको र आर्थिक हिनामिना गरेको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
समितिकै केही उपभोक्ताहरूले अध्यक्षले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएका थिए ।
आयोगको कार्यालयले डिभिजन वन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय कानेपोखरीका वन अधिकृत अलाउद्दीन अन्सारीलाई अनुसन्धानका लागि खटाएको थियो । अख्तियारले वनलाई छानबिन तथा कारबाहीका लागि २ पटक पत्राचार गरेपछि मात्रै छानबिनको प्रक्रिया अगाडि बढाइएको थियो । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका थिए ।
२०७९ साउनमा अध्यक्ष लिम्बूले वनको घाट गद्धीमा रहेको काठ आफूखुसी उपभोक्ताहरूलाई विक्री गरेको फर्जी बिल देखाएर अन्यत्र काठको कारोबार गर्ने व्यापारीलाई विक्री गरेको पाइएको छानबिन समितिले जनाएको छ ।
लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई कीर्ते कागजात बनाई काठ विक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
लिम्बूले प्रति क्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको छानबिन समितिले जनाएको छ ।
छानबिनको क्रममा अध्यक्ष लिम्बूले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अनियमितता गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
छानबिन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सव डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दीपेश मिश्रलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको थियो ।
अनियमितताको आरोप लागेका लिम्बूलाई डिभिजन वन कार्यालयले हाजिर जमानतमा छोडेको थियो । उनी नेपाली कांग्रेस बेलबारीका नगर सभापति समेत हुन् ।