
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका प्रहरी नायब निरीक्षक (सई)विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय जलेश्वर महोत्तरीका लेखापालसमेत रहेका सई विनोद विष्टविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा बुधवार आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए ।
सोही सूचना एवं उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले घुस रकमसहित उनलाई नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा विष्टले भवन निर्माणको म्याद थप र भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१)(घ) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको माग दाबीसहित आरोप पत्र दायर गरिएको हो ।