
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताएका छन् ।
बिहीवार बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्मा धारणा राख्ने भन्दै भावनात्मक विषयवस्तु र अर्कै प्रसंगमा बोलिएको व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको उनको जिकिर छ ।
‘प्रधानमन्त्रीज्युले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्यूले संसद्मा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ । यो एउटा भावनात्मक विषयवस्तु र अर्कै प्रसंगको व्यक्तिगत कुरा हो । त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर अहिले जसरी (राजीनामा माग) गरियो, यो बेठीक कुरा हो,’ पाण्डेले भने ।
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले संसद्मा आफ्ना कुरा राख्न नपाउने भए कसले पाउने ? भन्दै प्रश्न समेत गरे ।