२६ असार २०८३, शुक्रबार

मुख्यमन्त्रीको दाबीमा सभामुखले हस्ताक्षर गरेपछि चौतर्फी विरोध

असार २१, २०८०
विराटनगर
मुख्यमन्त्रीको दाबीमा सभामुखले हस्ताक्षर गरेपछि चौतर्फी विरोध

कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रियामा सभामुख बाबुराम गौतमले स्वतन्त्र सांसदको हैसियतमा हस्ताक्षर गरेपछि चौतर्फी विरोध शुरू भएको छ ।

उनले पदीय मर्यादा विपरीत सरकारलाई समर्थन गरेको भन्दै विरोध शुरू भएको छ । 

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई दिएको पत्रमा सभामुख गौतमले छुट्टै हस्ताक्षर गरेका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

उनी नेकपा एमालेको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन् । ‘प्रदेश सभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यहरूको बहुमतबाट हुनेछ । अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार हुने छैन तर मत बराबर भएमा अध्यक्षता गर्न व्यक्तिले आफ्नो निर्णायक मत दिनेछ,’ संविधानको धारा १८६ मा उल्लेख गरिएको छ । 

गत पुस २८ गते सभामुख भएका गौतमले पहिलो बैठकमै निष्पक्ष हुने बताएका थिए । ‘सभामुखको आसनबाट मैले निष्पक्ष पदमा आसिन हुँदै गर्दा मेरो हालसम्म रहेको दलसँगको आबद्धता यो सभामुख पदको भूमिका निर्वाह गर्ने कार्यकालसम्म आजकै मितिदेखि अलग भएको यस गरिमामय सदनमा घोषणा गर्दछु’ भनेर उनले पहिलो बैठकमा भनेका थिए ।

सभामुखको हस्ताक्षरप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टि व्यक्त गरेका छन् । सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रूपमा पेश गर्नु संवैधानिक सर्वाेच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्त विपरीत हुने कोइरालाले फेसबूकमा लेखेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले पनि सभामुखको गणना कुनै पनि दलले गर्न नपाउने बताएका छन् । ‘दुवैतिर मत बराबर भएर निर्णय अड्किएको अवस्थामा मात्रै सभामुखले निर्णायक मत दिन पाउने भएकाले सामान्य अवस्थामा उनको गणना कुनै दलले गर्न पाउँदैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

कांग्रेस, माओवादी, समाजवादी र जसपाको गठबन्धनले सभामुख समेत गनेर बहुमतको दाबी गर्नु सरासर अनैतिक र अराजनीतिक भएको कार्कीको टिप्पणी छ । 

सभामुखको नाम लिएर आए मुख्यमन्त्री नै नियुक्त नगर्न प्रदेश प्रमुखसँग आग्रह गरेको एमाले रुष्ट बनेको छ । ‘सभामुखले संसारमा कहीँ नभएको काम गरेर बहादुरी देखाउनुभयो,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘उहाँमाथि विश्वास गर्ने वातावरण छैन ।’

अहिले काठमाडौंमा संविधानविद्हरूसँग छलफल गर्न आएको र भोलिसम्ममा सभामुखको विरुद्धमा नयाँ कदम चाल्ने समेत उनले बताए । 

नवनियुक्त मुख्यमन्त्री थापाले भने सभामुखले विवादमा पर्ने कुनै काम नगरेको बताएका छन् । ‘उहाँ सभामुख मात्रै नभई प्रदेश सभाको सदस्य भएकाले हस्ताक्षर गर्नुभएको हो,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्