२२ असार २०८३, सोमबार

सरसर्ती २४ घण्टा : लगातार संसद् ठप्प, कोशीको मुख्यमन्त्रीमा एमालेले माग्यो परमादेश

असार २३, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : लगातार संसद् ठप्प, कोशीको मुख्यमन्त्रीमा एमालेले माग्यो परमादेश

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
‘मलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरैचोटी दिल्ली जानुभयो’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर लगातार संसद् ठप्प छ । प्रधानमन्त्री प्रचण्डले सो अभिव्यक्ति आफ्नो नभई सरदार प्रितम सिंहको भावना रहेको स्पष्टीकरण दिएका छन् । तर संसद्मा एमालेको अवरोध रोकिएको छैन ।

एमालेको चेतावनीपछि प्रतिनिधिसभाको बैठक लगातार सूचनामार्फत स्थगित गरिएको छ । एमालेले प्रधानमन्त्रीको राजीनामालाई नै बटमलाइन बनाएको छ ।

बिहीवार सत्ता गठबन्धनले राजीनामाको कुरामा छलफल नै नगर्ने बरु संसद्मा फेस गर्ने निर्णय गरेपछि एमाले क्रुद्ध भएको छ ।
प्रधानमन्त्रीको सचिवालय र माओवादीको कार्यालयले विज्ञप्ति प्रकाशित गरेर प्रचण्डको सदासयतालाई दूराशयमा बदल्न खोजिएको भनेर प्रष्टीकरण दिएका छन् । तर संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उसकै शब्दमा प्रचण्डको राष्ट्रघाती अभिव्यक्तिप्रति माफी मागेर नपुग्ने अडान लिइरहेको छ ।

सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसले प्रचण्डको अभिव्यक्ति सम्बन्धमा कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर कांग्रेस नेताहरूले प्रचण्डको अभिव्यक्ति गलत भएको बताइरहेका छन् ।
००००
नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको भेला १४ बुँदे प्रतिबद्धता पारित गर्दै सम्पन्न भएको छ ।
केन्द्रीय कार्यालयको आयोजनामा असार २१ गतेदेखि शुरु भएको जिल्ला सभापतिहरूको दुई दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सम्पन्न भएको हो ।

बैठकको अन्त्यमा पार्टीका महामन्त्रीद्वय  गगन थापा र विश्वप्रकाश शर्माले बैठकबाट आएका सुझावहरूलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका थिए ।
००००
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन् । बिहीवार मुख्यमन्त्री पदमा नियुक्त थापालाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शपथसँगै मुख्यमन्त्री थापाले थापाले सानो मन्त्रिमण्डल गठन गरेका छन्।
००००
यसैबीच कोशी प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले तीन जनालाई विपक्षी बनाएर शुक्रवार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् ।
रिट निवेदनका कार्कीलाई नै मुख्यमन्त्री बनाउन परमादेश माग गरिएको छ । 
००००
कोशी प्रदेशका सभामुख बाबुराम गौतम विवादमा तानिएका छन् । कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन छुट्टै हस्ताक्षर गरेपछि उनी विवादमा तानिएका हुन् ।
 गौतमले निकास दिन आफूले हस्ताक्षर गरेको र आवश्यक परे राजीनामा दिने बताएका छन् ।
००००
मिटरब्याज पीडितले देशभर हालसम्म झण्डै २४ हजार उजुरी दिएका छन् ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये

एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो ।
००००
यसै महिनाको शुरुआतमा पूर्वी नेपालमा आएको भीषण बाढी पहिरोका कारण रु छ करोड १६ लाख बराबरको निजी घर तथा सम्पत्तिको क्षति भएको पाइएको छ ।  

प्राकृतिक विपद्बाट ५४ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने २० घर आंशिकरूपमा क्षति भएको छ । यस्तै, दुई सय ६४ पशु चौपायामा क्षति पुगेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
००००
सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो ।

सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा विभागका महानिर्देशक डा सम्झनाकुमारी काफ्लेले बताइन् । साथै खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म १० लाख ३७ हजार मात्रा खोप आयात भई सात वटै प्रदेशमा वितरण गरिसकिएको छ ।
००००
समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आह्वान गरिएको छ ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा पहिलो बैठक आह्वान भएको हो । 

शनिबार अपराह्न ४ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।
००००
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार पुर्याउन माग गरेको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै वर्तमान समयको मूल्यवृद्धि र महङ्गीलाई ध्यानमा राखी सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने बताए ।
००००
गण्डकी प्रदेश सरकारले यही असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट प्रदेशसभाबाट पारित भएको छ । 

आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगरले शुक्रबारको प्रदेशसभा बैठकमा विनियोजन विधेयक–२०८० र आर्थिक विधेयक–२०८० लाई पारित गर्नका लागि प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
००००
काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स क्लबका अर्का सञ्चालक रुदिलबल्ल श्रेष्ठ पनि पक्राउ परेका छन् ।
एलओडीमा गएकी १६ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएपछि सञ्चालक श्रेष्ठलाई कुपण्डोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।
००००
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले स्वतन्त्र सासंद डा अमरेश कुमार सिंहविरुद्ध गालीबेइज्जती तथा मानहानिको मुद्दा दर्ता गरेकी छन् ।
००००
सर्वोच्च अदालतले प्रस्तावित माथिल्लो कर्णाली जलविद्युत आयोजनामा भएको सम्झौताको म्याद थप नगरी तदारुकताका साथ काम सम्पन्न गराउन आदेश गरेको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानसहितको संवैधानिक इजलाशले २०८० वैशाख २४ गते गरेको आदेशको पूर्ण पाठ शुक्रवार सार्वजनिक भएको छ ।
००००
ललिता निवास जग्गा प्रकरणमा १७ जनालाई पक्राउ नगर्न भनी यस अघि जारी भएको आन्तरिम आदेश खारेजीको माग गर्दै परेको भ्याकेट निवेदनमा सर्वोच्च अदालतले आदेश गरेको छ ।

अन्तरिम आदेश पाएका १७ जनालाई समेत जानकारी गराई साथै राखेर पेश गर्नु भनी सर्वोच्च अदालतबाट आदेश भएको हो ।
००००
मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएकोमा थियो यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
००००
जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम शुृक्रबार स्वदेश फर्किएका छन् ।
प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो ।
००००
बिहीवार राती आफ्नै निवासमा मृत भेटिएका अभिनेता सारुक ताम्राकारको शुक्रवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई पिता सानु ताम्राकारले दागबत्ती दिएका छन् । उनका सारुक एउटै सन्तान थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्