
मकवानपुरमा ट्रकहरू दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
दुर्घटनामा ३ जनाको ज्यान गएको कार्कीले बताए । मृत्यु हुनेमा ना६ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका–८ बस्ने २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक जिल्ला गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटार बस्ने २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने २० वर्षीय अमृत प्रजा रहेका कार्कीले बताए ।
आगलागी भएको सवारी निभाउन हेटौंडाबाट २ वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा ना६ख ६६६७ नम्बरको ट्रकमा सवार जिल्ला चितवन राप्ति नगरपालिका–३ बस्ने ३५ वर्षीय विवेक तामाङ र ना६ख ६३१ नम्बरको ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका–३ बस्ने ३२ वर्षीय अर्जुनकुमार प्रजा रहेका बताइएको छ ।