
काठमाडौँ । राजधानीको जमलस्थित नाचघरमा अन्तर्राष्ट्रिय ‘११ औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२३’ सुरु भएको छ । चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी तथा विभिन्न चलचित्रकर्मीले महोत्सवको ‘बुकलेट’ विमोचन गर्दै महोत्सव सुरु गरेका हुन् ।
सोमबार बेलुकासम्म चल्ने यो महोत्सवमा यस पटक १० वटा अफ्रिकी चलचित्र र नेपालका १२ गरी कुल २२ चलचित्र छन् । जसमा अफ्रिकाको ३ वटा वृत्तचित्र, एउटा फिचर फिल्म र ६ वटा सर्ट फिल्म रहेका छन् ।
१० वटा अफ्रिकी चलचित्र मध्य फिचर फिल्म तर्फ मोजाम्बियाको फिचर फिल्म ट्रेन अफ द साल्ट एन्ड सुगर छानिएको छ । यस्तै सर्ट फिल्म तर्फ रुवान्डा र स्विजरल्यान्डको सर्ट फिल्म आई गट आई थिङ एन्ड लेफ्ट, इजिप्टको सर्ट फिल्म द बिल्डर, साउथ अफ्रिकाको सर्ट फिल्म ह्याङ म्यान, फ्रान्सको सर्ट फिल्म शान्ता क्लज डार्क साईड, घानाको सर्ट फिल्म या, केन्या र जर्मनको सर्ट फिल्म वाटु बाटो छानिएको छ । महोत्सवमा वृत्तचित्र अन्तर्गत जिम्मावेको वृत्तचित्र कलिङ द डेड, युगान्डाको वृत्तचित्र समबडी क्लाप फर मी र केन्याको वृत्तचित्र थ्याँक्यु फर द रेन रहेका छ ।
महोत्सवमा नेपालबाट चारवटा फिचर फिल्म, तीन वटा सर्ट फिल्म, तीन वटा स्टुडेन्ट फिल्म र दुई वटा वृत्तचित्र प्रदर्शनका लागि छानिएका छन् । फेस्टिबलका लागि छानिएको फिचर फिल्ममा दिनेश राउत निर्देशित प्रकाश, परिच्छेद सेन निर्देशित प्रेमगञ्ज, शम्भु थापा निर्देशित हुक्का र रोशन कुमार श्रेष्ठ निर्देशित भाग्य रहेका छन् । यो फेस्टिबललाई छानिएको सर्ट फिल्ममा डब्बु क्षत्री निर्देशित परिवर्तन, सुमन दाहाल निर्देशित परिवार, प्रधुम्न मिश्र निर्देशित दुविधा रहेका छन् । स्टुडेन्ट समुहको सर्ट फिल्म प्रतिस्पर्धामा सुन्दर योञ्जन निर्देशित ऐजेरु, सामल कुमार बज्राचार्य निर्देशित हावाम्यान र अम्बिका भण्डारी निर्देशित कलुवा रहेका छन् ।