
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवालाई पैसा बुझाएको भन्दै सार्वजनिक अडियो अभियुक्त सन्देश शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार ठगी तथा संगठित अपराध कसूर मुद्दामा पक्राउ परेर थुनामा रहेका तुलसीपुर उपमहानगरपालिका- १६ का शर्मासँग सार्वजनिक अडियोको आवाज मिलेको हो ।
राणाले आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।
निवेदनमाथि अनुसन्धान गर्दा अडियो शर्माको आवाजसँग मिलेको प्रहरीले जनाएको छ । प्रहरीले त्यो अडियो टिकटकमा कसले पहिलोपटक राखेको थियो भन्नेबारे टिकटक सिंगापुरसँग जानकारी मागेको छ ।
अडियोमा आरजू र मञ्जु खाँणको नाम लिइएको छ भने उनीहरूलाई पैसा बुझाएको दाबी समेत गरिएको छ ।
अभियुक्त शर्मा यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा थुनामा छन् ।
हेर्नुहोस्, प्रहरीको विज्ञप्ति :
