
नेपाली फिल्म ‘दान्भी’को छायांकन एक साता अघिदेखि भइरहेको छ । निर्माण पक्षले सुरुवाती चरणमा फिल्मको गीतको छायाँकन गरेको छ । गीतको छायाँकन सकिएसँगै तस्वीरहरू समेत सार्वजनिक गरिएको छ ।
‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतको सार्वजनिक तस्वीरमा फिल्मका मुख्य २ कलाकारहरू अभिनेत्री पूजा शर्मा र अभिनेता कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । तस्वीरमा पूजा हट देखिएकी छन् भने कुन्साङ रोमान्टिक देखिएका छन् ।
हरि बहादुर घलेको छायांकन रहेको यो गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । अर्जुन पोखरेलको संगीत रहेको यो गीतलाई चाँडै नै सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको यो फिल्ममा रविना थापा मगरको कथा छ ।
फिल्मलाई लभस्टोरी र एक्सन कथामा निर्माण गर्ने निर्देशक रुपेशले जानकारी दिएका छन् । यो फिल्मको हाल काठमाडौंमा छायांकन भइरहेको छ ।
काठमाडौंमा गीत र एक्सनको दृश्य खिचेपछि बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारी निर्माणपक्षको छ । पूजा र कुन्साङले पहिलो पटक एकसाथ काम गरिरहेका हुन् ।
