
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिबारे पुनः जवाफ माग गरेको छ ।
प्रधानमन्त्रीले संसदमार्फत जनतालाई चित्तबुझ्दो जवाफ दिनुपर्ने एमालेको माग छ
सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै नेकपा एमालेका गोकुल बास्कोटाले देशको प्रधानमन्त्रीको रूपमा प्रचण्डले राष्ट्रिय आत्मसमर्पणवादलाई स्वीकारेको आरोप लगाए ।
‘कुनैबेला भारतलाई विस्तारवादको आरोप लगाउने प्रचण्ड ट्रक चढेर कहाँ पुग्नुभयो ?’ बास्कोटाले प्रश्न गरे, ‘तपाईंले तिरंगा (भारतको झण्डा) उचाल्ने हो कि चन्द्रसूर्य झण्डा उचाल्ने हो ?’
राष्ट्रिय स्वाभिमानमा धक्का पुग्ने अभिव्यक्ति दिएको भन्दै एमालेले प्रधानमन्त्रीबाट प्रचण्डको राजीनामा माग गर्दै असार २० गतेदेखि संसद् अवरुद्ध पारेको थियो ।