
नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीमाथि चलाइएको भ्रमहरु हटेको दाबी गरेका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्रीले भावनात्मक रुपमा दिएको अभिव्यक्तिको सम्बन्धमा चलाइएको भ्रम प्रधानमन्त्रीको सम्बोधनपछि हटेको बताए ।
आगामी दिनमा संसदलाई नीति निर्माण र ऐन, कानून निर्माण गर्ने आफ्नो भुमिकालाई इमान्दार भएर निर्वाह गर्नुपर्ने प्रधानन्त्रीको अभिव्यक्तिलाई आजको बैठकमा सबैले महशुस गरेको पनि दाहालले उल्लेख गरे । उनले संसद अवरोध हटाउने नाममा प्रधानमन्त्रीले कुनै खालका अनुचित सम्झौता नगरेको पनि स्पष्ट पारे ।
उनले भने, ‘यो स्वभावैले भावनात्मक विषय थियो । भावनात्मक विषयलाई अनावश्यक राजनीतिक इस्यु बनाएर सदनसम्म ल्याउने काम भएको थियो । आजबाट त्यो सबै अन्यौलताहरु, भ्रमहरु साफ भएको छ । सत्य स्थापित भएको छ । सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा प्रचण्ड नेतृत्वको सरकारले कुनैपनि खाले सम्झौता गर्दैन । भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टहरुलाई कारबाही गर्ने, दण्डित गर्ने प्रक्रियामा सरकारले कुनैखाले सम्झौता कसैसँग गर्दैन । गरेको पनि छैन ।’
सांसद दाहालले सुशासन, समृद्धि र सामाजिक न्याय प्रदान गर्ने सन्दर्भमा सरकारले कसैसँग कुनैखालको सम्झौता नगर्ने बताए ।