
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।
यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी एक दिने नेपाल भ्रमणका लागि शुक्रबार नै आइपुगेका थिए । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उनका श्रीमती सीता दाहालको निधनप्रति समवेदना व्यक्त गरे ।
यसैगरी उनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरे ।
००००
सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणित गरेका छन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हुन् । संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जानेछ ।
००००
त्रिभुवन शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको फार्मेसी प्रमुख अमृत पोखरेल झुण्डिएको अवस्थामा फेला परेका हुन् । सो प्रकरणको दुरुत्साहन आरोपमा ४ जना पक्राउ परेका छन् ।
००००
मधेश प्रदेशसभाबाट सरकारको आर्थिक विधेयक सर्वसम्मत स्वीकृत भएको छ । शुक्रबारको प्रदेशसभा बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक विधेयक, २०८० पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
योसँगै मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट तथा कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ ।
००००
मुलुकभर ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागले प्रदेशसँगको समन्वयमा तयार गरेको असार २९ गतेसम्मको धान रोपाइँको तथ्यांकअनुसार मुलुकभर ५३ प्रतिशत मात्रै रोपाइँ सम्पन्न छ ।
००००
असार ५ गतेको मन्त्रिपरिषद् बैठकले देशभरका जिल्ला प्रहरी कार्यालय तथा अदालतहरूबाट साइबर अपराधका मुद्दा किनारा लगाउने निर्णय र्गयो ।
सरकारले इन्टरनेटको बढ्दो प्रयोग र त्यसबाट बढ्दै गएका अपराधका घटनालाई मध्यनजर गरेर जिल्लाबाटै अनुसन्धान र मुद्दा चलाउन सक्ने निर्णय गरेको हो । तर, उक्त निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।
००००
सरकारले हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) तिर्न अन्ततः वायुसेवा कम्पनीहरू तयार भएका छन् ।
१५ जेठमा घोषणा भएको नयाँ कर १६ असारबाटै लागू भएको भए पनि वायुसेवा कम्पनीहरूले यसलाई कार्यान्वयन गर्न मानिरहेका थिएनन् ।
००००
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटार जग्गा प्रकरणका मूल पात्रलाई कारवाही गर्न माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछालाई पनि कारवाही गर्न माग गरे ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटर ब्याजसम्बन्धी प्रतिस्थापन विधेयक तत्काल ल्याउन माग गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आगामी बैठकमा विधेय नल्याए आफूहरूले संसद् चल्न नदिने चेतावनी दिए ।
००००
सभामुख देवराज घिमिरेले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोगको रोकथामबारे सरकारले गरिरहेको कार्यहरू सदनलाई जानकारी गराउन निर्देशन दिएका छन् ।
शुक्रवार संसद् बैठकको विशेष समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै यसबारे सदनमा जानकारी दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका हुन् ।
००००
निर्माण कार्यको म्याद थप गर्न र बाँकी भुक्तानी दिन माग गर्दै व्यवसायीहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् । शुक्रवार माइतीघरमा भेला भई निर्माण व्यवसायीहरूले धर्ना दिएका हुन् ।
उनीहरूले अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा समेत मागेका छन् । व्यवसायीहरूले गरेको कामको भुक्तानी अर्थमन्त्री महतले नदिने भनेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुन थालेको बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन थालेको बताए ।
००००
डा सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको सचिवालय बैठकले विस्तार गरेसँगै अब केन्द्रीय समितिको संख्या दुई सय १६ पुगेको छ ।
००००
एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग पराजित भएको छ । श्रीलंकाको कोलम्बो क्रिकेट क्लब मैदानमा पाकिस्तान एले नेपालमाथि चार विकेटको जित निकालेको हो ।