
परराष्ट्रमन्त्री एनपी साउदले हरेक व्यक्तिले राष्ट्रिय गानमा आत्मसम्मान र गौरव महसुस गर्ने बताएका छन् ।
नेपाल वाङ्मय फाउन्डेसनले आयोजनामा आज विश्वका राष्ट्रिय गान पुस्तकको लोकार्पण समारोहमा मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको विम्बलाई प्रतिनिधि गर्ने भएकाले हरेकलाई आत्मसम्मान र गौरव महसुस गर्ने बताएका हुन्।
“हरेक देशको राष्ट्रिय गानले राष्ट्र कुन स्थितिमा निर्माण भएको छ भन्ने विम्ब झल्काउँछ । राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्”, उनले भने, “राष्ट्रको भावी पदयात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ ।” उनले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताए ।
मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न संयुक्त राष्ट्रसङ्घले काम गर्नुपर्छ भन्ने अवस्था सृजना गर्न खोजेको बताए ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउनु हुँदै विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पु¥याएको धारणा राखे ।
पुस्तकमाथि टिप्पणी गर्दै पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई बैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताए ।