२३ जेठ २०८३, शनिबार

बागलुङमा लम्पी स्किनबाट १६६ गाईको मृत्यु, वडावडामा पठाइयो औषधि र खोप

साउन ३, २०८०
बाग्लुङ
बागलुङमा लम्पी स्किनबाट १६६ गाईको मृत्यु, वडावडामा पठाइयो औषधि र खोप

बागलुङका सबै स्थानीय तहका वडावडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाइएको छ । 

२ हजार ९०० पशु बिरामी भएकाले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए । केन्द्रले बागलुङ नगरपालिकाका लागि ५०० पशुलाई पुग्ने खोप पठाएको छ । 

लम्पी स्किनबाट बागलुङमा १६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १०४ डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ । फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ । 

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको संक्रमण देखिएको थियो । त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताए । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौं क्षति व्यहोरेका छन् ।

ढोरपाटन नगरपालिकाका १ हजार २०० गाईगोरु बिरामी छन् । निसीखोलामा ५१३, गलकोट नगरपालिकामा १४२, बडिगाड गाउँपालिकामा १८१ र तमानखोलामा १८९ गाई बिरामी परेका छन् । बागलुङ नगरपालिकामा पनि २२१ गाईमा पनि लम्पी स्किन देखिएको छ ।  

संक्रमण बढेपछि स्थानीय तहले खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले ४ हजार ५०० डोज खोप पालिका तहमा पठाएको सापकोटाले बताए । सबैभन्दा धेरै संक्रमण देखिएको ढोरपाटनमा प्राविधिकको अभावमा खोप लगाउन नसकिएको उनले बताए । 

किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुमा यो रोग संक्रमण फैलिने तथा गोठ फोहोर हुँदा पनि संक्रमण बढी हुने गरेको पाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्