
नेपाली कांग्रेसकी मनोनित केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयले आफ्नो दायरा फराकिलो नबनाए उनीहरूको पनि विकल्प खोज्नुपर्ने दिन आउन सक्ने बताएकी छिन् । सभापतिलाई दोषी देखाएर महामन्त्रीहरू उम्किने प्रयास गर्न नपाउने उनले चेतावनी दिइन् ।
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई बुधवार सम्बोधन गर्दै खतिवडाले महामन्त्रीका कामको आफूहरूले मूल्याङ्कन गरिरहेको बताएकी हुन् ।

‘महामन्त्रीज्यूहरूले केही सपना देखाउनुभएको छ, दुवैलाई विनम्रतापूवर्क आग्रह छ–कांग्रेस बलियो बनाउने कांग्रेसलाई सही मार्गचित्रमा उद्देश्यका साथ तपाईंहरू हामी सबैको नेतृत्व लिनेगरी अगाडि बढ्नु होला । दायरा फराकिलो नबनाए, जसरी तपाईंहरू कसैको विकल्प खोज्ने भन्दै हुनुहुन्छ, तपाईंहरूको विकल्प खोज्ने दिन आउछ, हेक्का रहोस्’ खतिवडाले भनिन् ।
महामन्त्री गगन थापाले सभापति देउवाको विकल्प खोज्नुपर्ने बेला आएको अभिव्यक्ति दिदै आएका छन् । केन्द्रीय सदस्य खतिवडाले सबै दोष सभापतिलाई नदिन पनि महामन्त्रीद्वयलाई आग्रह गरिन् । ‘सभापति संस्था हो, हिजो अरु कोही हुनुहुन्थ्यो, सभापतिलाई जुन ढंगबाट खराब, हामी असल हौं भन्ने तपाईंहरूको दाबी हास्यास्पद छ । जसै, गठबन्धनको कुरा गर्नुहुन्छ, निर्णय कांग्रेस केन्द्रीय समितिले गरेको थियो । गठबन्धनमा चुनाव लड्ने, सबै दोष सभापतिलाई ? पछाडि बसेर सबै गतिविधिको मूल्यांकन गरेका छौं, बलियो बनाउने कुरामा समर्थन छ’ उनले भनिन् ।
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्य नैनसिंह महरले पनि महामन्त्रीले जिल्ला सभापतिको भेला बोलाएको भन्दै असन्तुष्टि जनाएका थिए ।