२१ जेठ २०८३, बिहीबार

नेपाली सेनाको संख्या घटाउने विषयमा श्रृंखलावद्ध बहस हुनु रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रापा

साउन ३, २०८०
काठमाडौं
नेपाली सेनाको संख्या घटाउने विषयमा श्रृंखलावद्ध बहस हुनु रहस्यमय र दुर्भाग्यपूर्ण : राप्रापा
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली सेनाको विषयमा निरर्थक बहस गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा अकारण र निरर्थक बहस सिर्जना गर्न खोजिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पनाजस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको राप्रपाले जनाएको छ ।

‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गरिनु हुँदैन’ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालको एकीकरणदेखि विश्वमा शान्ति कायम गर्ने कार्यमासमेत अलग पहिचान बनाएको, विकास निर्माण, सिमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चूनौतीपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको नेपाली सेनालाई अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ ।’

कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई स्वीकार नगर्ने राप्रपाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्