
फ्रान्समा गत महिनाको अन्त्यमा भएका दंगामा ७०० भन्दा बढीलाई जेल सजाय सुनाइएको छ ।
मुद्दाहरूको द्रुतगतिमा सुनुवाई भएकोमा अदालतको प्रशंसा गर्दै फ्रान्सेली न्यायमन्त्रीले त्यसबाट केही प्रतिवादी वकिलहरूलाई चिन्तामा पारेको बताएका छन् ।
बुधवारसम्म १ हजार २७८ निर्णय सुनाइएकोमा ९५ प्रतिशतभन्दा बढी प्रतिवादीहरू तोडफोड, चोरी, आगजनी वा प्रहरी अधिकारीहरूलाई आक्रमण गर्ने अभियोगमा दोषी ठहरिएका जानकारी उनले आरटीएल रेडियोलाई दिएका छन् ।
न्यायमन्त्री एरिक डुपोन्ड मोरेट्टीका अनुसार करीब ६०० जनालाई पहिले नै जेल पठाइएको छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न त्यसो गर्नुको विकल्प थिएन । सन् २००५ पछि फ्रान्समा यति विशाल हुलदंगा एवं हिंसात्मक झडप भएका थिएनन् ।
गत जुन २७ मा एक जना प्रहरी अधिकारीले १७ वर्षका फ्रान्सेली–अल्जेरियन किशोरलाई गोली हानेपछि देशभर हिंसा भड्किएको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ४ दिन ४ रात गम्भीर झडपपछि स्थिति नियन्त्रणमा आएको थियो । त्यसका लागि ४५ हजार सुरक्षाकर्मी सशस्त्र सवारीसाधनका साथ परिचालन भएका थिए ।