
स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किंदै गरेको निजी कार प्युठानको स्वर्गद्वारी नगरपालिका– ४ भिंग्रीमा २९ जेठ २०८० मा दुर्घटना भयो । दुर्घटनामा दाङको एकै परिवारका ४ जनासहित कारमा सवार सबै (८ जना)ले ज्यान गुमाए ।

यसअघि नयाँ वर्ष मनाउने गरी स्वर्गद्वारी गएका गुल्मीका कर्मचारीसहितको जीप १ वैशाख २०७८ मा सोही ठाउँमा दुर्घटना हुँदा कर्मचारीसहित ६ जनाले ज्यान गुमाएका थिए ।
नेपालको प्रमुख धार्मिकस्थलमध्येको एक स्वर्गद्वारी दर्शन गर्न जाँदा र फर्किंदा स्वगद्वारी–भिंग्री १४ किलोमिटर खण्डमा ठूल्ठूला दुर्घटना हुने क्रम चलिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार पछिल्लो साढे तीन वर्षमा मात्रै यो खण्डमा गाडी दुर्घटनामा परेर ३० जनाले ज्यान गुमाउनुपरेको छ ।
‘यो सडक खण्ड ट्रयाक खोलेर सञ्चालनमा आएको २०६४ देखि हो । त्यसपछिको १५ वर्षमा ४० वटा दुर्घटना हुँदा ५५ जना तीर्थ यात्रुले ज्यान गुमाएको तथ्यांक भेटिएको छ,’ उनले लोकान्तरसँग भने ।
यो सडक हुँदै दैनिक ५० देखि १०० वटासम्म सानाठूला सवारी मन्दिर दर्शनका लागि तीर्थ यात्रु बोकेर जाने गरेका छन् । अझै साउनमा यो संख्या बढी हुन्छ ।

स्वर्गद्वारी पुग्न त्यति सहज भने छैन । साँघुरो र डरलाग्दो घुम्ती सडक पार गरेर यात्रा गर्न यात्रुहरू बाध्य छन् । स्वर्गद्वारी नगरपालिका वडा नम्बर– ४ का वडाध्यक्ष सुवर्णकुमार श्रेष्ठका अनुसार दुर्घटनाको भयले स्वगद्वारी–भिंग्री सडक खण्डमा यात्रा गर्ने अधिकांश यात्रुले भगवानको नाम लिने गरेका छन् ।
‘यो सडक खण्ड साँघुरो हुँदा पटक–पटक दुर्घटना भएपछि केही नराम्रो नहोस् भनेर यात्रुहरूले यहाँ आइपुग्दा भगवानको नाम लिने गरेको सुनिन्छ,’ अध्यक्ष श्रेष्ठले लोकान्तरसँग भने ।
बुटवलबाट हालै स्वर्गद्वारी दर्शन गर्न गएकी विमला पराजुलीले सडकको अवस्था सम्झिँदा अझै पनि आङ सिरिंग हुने बताइन् ।
बर्सेनि हजारौं पर्यटक पुग्ने स्वर्गद्वारीको सडक स्तरोन्नति गरी दुर्घटना न्यूनीकरण गर्नेतर्फ पर्याप्त चासो र चिन्ता देखिएको छैन ।
लुम्बिनी प्रदेशका पहाडी जिल्लामध्ये प्युठान धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ । दुई वर्षअघि नौबहिनी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए ।
सडक दुर्घटनामा ज्यान गुमाउने प्रत्येक वर्ष बढ्दै गए पनि त्यसको रोकथाम र न्यूनीकरणमा तीनै तहका सरकारको चासो छैन ।
दुर्घटना हुँदा हरेक दृष्टिकोणबाट सडक र सवारीका विषयमा टीकाटिप्पणी हुने गरे पनि केही समयमै यस्ता विषय सेलाएर जाने गरेका छन् ।

साँघुरो सडक र घुम्तीका कारण यहाँ बारम्बार दुर्घटना हुने गरेका छन् । वि.स. २०६४ मा सञ्चालनमा आएको सडक निकै कष्टकर छ ।
निरन्तर दुर्घटना हुन थालेपछि एक वर्ष अघिदेखि उक्त सडकमा ठूला गाडी चल्न छाडेका छन् । साना सवारी साधनलाई पनि जोखिम उत्तिकै छ ।
बाहिरबाट आउने सवारी चालकलाई सडकको अवस्थाका विषयमा पर्याप्त जानकारी नहुँदा पनि दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
सडककै कारण बर्सेनि भक्तजनले अकालमा ज्यान गुमाइरहँदा स्वर्गद्वारी–भिंग्री सडक खण्डको स्तरोन्नति, सडक सुरक्षालगायत विषयमा सरोकारवालाको ध्यान पुगेको देखिँदैन ।
प्यूठानबाट निर्वाचित एमाले सांसद सूर्य थापा सडक स्तरोन्नतिका लागि यसै वर्ष ११ करोडको योजना परेर काम शुरू हुने तयारीमा रहेको बताउँछन् ।
‘सडकको विषयमा मैले पटक–पटक संसद्मा कुरा उठाएको छु,’ थापाले लोकान्तरसँग भने, ‘सम्बन्धित मन्त्रीको पनि ध्यानाकर्षण गराइरहेको छु । वैकल्पिक सडक पनि बन्ने प्रक्रियामा छन् । दुर्घटना नहोस् भनेर अहिले नयाँ ठाउँबाट आएका गाडीका चालकलाई ट्राफिक प्रहरीको सहयोगमा रोकेर सडकबारे जानकारी दिई रिफ्रेसमेन्ट गराएर पठाउने गरिएको छ ।’
सडक चौंडा बनाएर साँघुरा घुम्तीहरू काट्नुपर्ने देखिएको छ ।
अहिले तीर्थ यात्रु बेकेका गाडीले क्षमताभन्दा बढी यात्रु ल्याउने गरेको देखिन्छ । साँघुरो सडक, क्षमताभन्दा बढी यात्रु र सडकको अवस्था जानकारी नभएका चालकले गर्दा दुर्घटना बढी हुने गरेको डीएसपी केसीले बताए ।
‘यसअघिका दुर्घटनाबाट पाठ सिकेको देखिएन,’ केसी थप्छन्, ‘दुर्घटना रोक्न विभिन्न स्थानमा होर्डिङ बोर्ड राखेका छौं । वैकल्पिक सडकको बारेमा पनि सोच्नुपर्छ ।’