
गण्डकी प्रदेशमा एक वर्षको अवधिमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०७९/८० मा चारवटा भवन निर्माण भएका छन् ।
पोखरामा आज भएको वार्षिक समीक्षा कार्यक्रममा मन्त्रालयअन्तर्गतका पूर्वाधार विकास निर्देशनालय, सहरी विकास तथा भवन र पूर्वाधार विकास कार्यालयका प्रमुखहरूले सडक, सडक पुल, झोलुङ्गे पुल र भवन निर्माणसम्बन्धी आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका हुन् ।
पूर्वाधार विकास निर्देशनालयका प्रमुख राम पराजुलीले गत आवमा एक सय ७४ किलोमिटर सडक कालोपत्र, ७८ किलोमिटर ग्राभेल, १५ वटा सडक पुल र १२ वटा झोलुङ्गे पुल निर्माण भएका जानकारी दिए । “प्रदेश सरकारले छ सय ६८ किलोमिटर सडक कालोपत्र, पाँच सय ९९ किलोमिटर सडक ग्राभेल, ८५ वटा सडक पुल र ६३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ”, उनले भने, “नयाँ आवमा थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ ।”
सहरी विकास तथा भवन कार्यालयका प्रमुख शोभियत खड्काले गत वर्ष बहुउद्देश्यीय/सामुदायिक, गैरआवासीय भवन, निर्मित भवनको संरचनात्मक सुधार, स्याटालाइट सिटी, सहरी पूर्वाधार र अन्य गरी कुल ४३ वटा योजना सञ्चालन गरेकामा ३० वटा सम्पन्न भएका जानकारी दिए ।