
राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप ३ जना कार्गाे कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ ।
जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
बिहीवार साँझ पक्राउ गरिएका तीनै कार्गाे तथा कुरियर सेवा दिने कम्पनीका सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन । उनका अनुसार बिहीवार साँझ पक्राउ परेका ३ जनासहित अहिलेसम्म सुन प्रकरणमा १० जना पक्राउ परेका छन् ।
त्यसमध्ये ६ जनालाई बिहीवारै उच्च अदालत पाटनबाट १० दिन थुनामा राख्न अनुमति लिएर अनुसन्धान थालिएको छ । बिहीवार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित ४ जनालाई शुक्रवार अदालत लगेर थुनाको अनुमति लिइने जनाइएको छ ।
बिहीवार दिउँसो पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
बुधवारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधवार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।