
बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा गलकोट क्षेत्रकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।
दुदिलाभाटीस्थित मध्यपहाडी लोकमार्गको काफालठुटादेखि गौदी गाउँ जोड्ने गरी मान्द्रेखोलामाथि २२७ दशमलव दुई मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो । निर्माण कम्पनीले समयमै काम नसक्दा निर्माण आयोजना अलपत्र परिरहेका बेला काफालठुटादेखि गौदी जोड्ने मान्द्रेखोलाको झोलुङ्गे पुल ठेक्का सम्झौता मितिभन्दा छ महिनाअगावै निर्माण भएको छ ।
काठमाडौंको सस्पेन्सन वृज डिभिजन कार्यालयअन्तर्गत स्थानीय पूर्वाधार आयोजना कार्यालय कास्कीसँग विसं २०७९ असार १५ गते बिएलपी कन्ट्रक्सनसँग १८ महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएकामा छ महिनाअगावै निर्माण भएको हो ।
रु एक करोड २५ लाख लागतमा निर्माण गरिएको पुल असार मसान्तमै सकिएर हस्तान्तरणको तयारीमा पुगेको कास्कीस्थित स्थानीय पूर्वाधार आयोजना कार्यालयका इञ्जिनियर निरज सापकोटाले जानकारी दिए ।
“अठार महिनामा सक्नुपर्ने काम एक वर्षमै सकियो, समयमै भुक्तानी गर्न सकेको भए अझ पहिलै सकिन्थ्यो, सम्झौताभन्दा अगावै निर्माण सक्नु सकारात्मक पक्ष हो”, उनले भने, “पुल निर्माण भएपछि गौदी हुँदै दुदिलाभाटी बजार र वडा कार्यालय पुग्न सहज हुनेभयो, पुल अन्तिम प्राविधिक मूल्याङ्कनपछि पुल हस्तान्तरण गरिने छ ।”
इन्जिनियर सापकोटाका अनुसार ‘डि’ टाइप मोडेलमा निर्माण भएको उक्त झोलुङ्गे पुलको उचाइ ६० मिटर अग्लो छ । गलकोट नगरपालिकाभित्र दुई सय २७ मिटर लामो झोलुङ्गे पुल पहिलोपटक निर्माण भएको हो ।
साविक दुदिलाभाटी गाउँको तीन वटा वडाबासीलाई वडा कार्यालय जान, भाटी बजार पुग्न र वडा कार्यालय र भाटी बजारलाई मध्यपहाडी लोकमार्गमा आउन सहज भएको स्थानीय धना खत्रीले बताइन् ।