०८ असार २०८३, सोमबार

भैरहवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन, निर्यात ३८ प्रतिशतले बढ्यो

साउन ५, २०८०
बुटवल
भैरहवा भन्सारले लक्ष्यको आधा पनि राजस्व संकलन गर्न सकेन, निर्यात ३८ प्रतिशतले बढ्यो

मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा जम्मा ७० अर्ब मात्र आम्दानी गरेको छ । यो कुल लक्ष्यको ४९.४१ प्रतिशत मात्र हो । भैरहवा भन्सारले गत आवमा १ खर्ब ५५ अर्ब ६० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

जसमध्ये असार मसान्तसम्म ७० अर्ब २ करोड ४० लाख रूपैयाँ मात्र संकलन भएको छ । भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले जुन पछिल्लो ८ वर्षयताकै कम राजश्व संकलन भएको बताए ।

‘आर्थिक मन्दीका कारण कम आयात हुनु, राज्यको अन्य नीतिगत समस्याका कारण राजस्व असुली खुम्चिन पुगेको देखिन्छ’ पौडेलले भने । आर्थिक वर्ष २०७८/७९ मा पनि भन्सार विभागले दिएको लक्ष्य भैरहवा भन्सारले ९ प्रतिशतले पूरा गर्न सकेको थिएन ।

१ खर्ब १५ अर्ब ८७ करोड ८७ लाख २४ हजार संकलन भएको थियो । मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैरहवा भन्सारका योगदान १२ प्रतिशतभन्दा बढी छ । तर यसपटक भने राजश्व असुली घट्दा मुलुकको राजस्व लक्ष्यमै प्रभाव परेको छ ।

राजश्व संकलन कम भएपछि भैरहवा भन्सारले सीमावर्ती बजारमा किनमेल गर्न जाने नेपालीलाई कडाइ गर्न थालेको छ ।

भारतीय बजारमा दैनिक उपभोग्य सामान किनेर आउने नेपालीलाई १०० रूपैयाँभन्दा बढीको किनमेललाई अनिवार्य भन्सार गर्न थालिएको प्रमुख पौडेल बताउँछन् । भन्सारमा कडाइ गर्दा चोरी तस्करी बढेको छ । देशमा देखिएको आर्थिक मन्दी र सबै क्षेत्र सुस्ताउँदा त्यसको असर भन्सार राजश्वमा पनि ठूलो मात्रामा देखिएको पौडेलको बुझाई छ । 

तर भैरहवा भन्सार हुँदै निर्यात हुने भने बढेको छ । आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आव २०७९/०८० मा ३८ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको देखिन्छ । कार्यालयको तथ्यांक  अनुसार अघिल्लो आवमा ७ अर्ब ८९ करोड २३ लाख ५४ हजार रुपैयाँ मूल्यका नेपाली वस्तु निकासी भएकोमा २०७९/०८० मा यो निकासी बढेर १० अर्ब ९५ करोड ७६ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

खजुरको प्रशोधित तेल, खोटो रोजिन, पिना, चोकर भुस लगायतका वस्तु भैरहवा हुँदै निर्यात हुने गरेका छन् ।

गत आवबाट बेलहिया नाका हुँदै सिमेन्ट र छड पनि निर्यात भएको थियो । भन्सार तथ्यांकअनुसार सेन्थेटिक यार्न ३ अर्ब १६ करोड ५३ लाखको निर्यात भएको छ । यस्तै, खजुरको प्रशोधित तेल १ अर्ब ३ करोड, खोटो रोजिन ५४ करोड ३९ लाख रुपैयाँको निर्यात भएको छ ।

यस्तै, वनस्पति उत्पादनहरू ४६ करोड २ लाख, पिना लगायत अन्य वस्तु ४५ करोड २६ लाख, सिमेन्ट र क्लिंकर ४० करोड ९१ लाख, अल्किड रेजिन र अन्य पीभीसी ३६ करोड ८९ लाख, चोकर, भुस ३६ करोड २० लाख रुपैयाँको निकासी भएको छ ।

नुडल्स, पास्ता लगायत ३२ करोड ४८ लाख रुपैयाँ र सिमेन्ट खैरो ३१ करोड ८६ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सरकारले निर्यातमा केही नीतिहरू सुधार गर्दा निकासी बढेको जनाए ।

salt training

कमेन्ट गर्नुहोस्