२५ जेठ २०८३, सोमबार

बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप लगाइँदै

साउन ६, २०८०
बाँके
बाँकेमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न चौपायालाई खोप लगाइँदै
प्रतिकात्मक तस्वीर

चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि बाँकेमा खोप दिन बल्ल थालिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख कमला अधिकारीले ६ हजार २०० डोज (मात्रा) खोप बाँकेमा आएको र यसबाट २ हजार ५०० खोप ३ वटा पालिकामा वितरण गरिएको जानकारी दिए ।

पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर लम्पी स्किन रोग विरुद्धको खोप दिन शुरूआत गरेको उनले बताए ।

‘पहिलो चरणमा पशु फार्म खोलेर व्यावसायिक पशुपालन गरेका कृषकको फार्ममै पुगेर खोप दिन शुरू गरेका छौं,’ उनले भने, ‘पहिलो चरणको वितरण सकिएपछि कृषकका घरघरमा पुगेर दोस्रो चरणको खोप दिन शुरू गर्छौं ।’

बाँकेका ८ वटा पालिकामध्ये कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा हालसम्म ६०० का दरले खोप वितरण गरिसकिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । बिहीवारदेखि खोप दिन प्राविधिक खटाइएको उनले बताए ।

जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पशु चिकित्सक रुपेन्द्रकुमार ओलीले पशुमा देखिएको रोगको पहिचानका लागि प्रयोगशाला परीक्षण र लक्षण अनुसारको उपचार भइरहेको जानकारी दिए । घाउ, खटिरा आएकालाई ‘ड्रेसिङ’ गर्ने काम भइरहेको जानकारी दिँदै पशु चिकित्सक डा. ओलीले ‘भाइरस’बाट सर्ने रोग भएकाले यसको दीगो उपचार नभएको जानकारी दिए ।

उनले तालिम प्राप्त ५० जना ‘भ्याक्सिनीयटर’ले पालिकामा पुगेर शुक्रवारदेखि खोप लगाउन शुरू गरेका बताए ।

नेपाल भेटेरिनरी एशोसिएशनका सचिव डा. शंकर न्यौपानेले संक्रमणबाट पशुको मृत्युपछि किसानले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको जानकारी दिए । ‘किसानलाई खेती गर्न पशु र पशुको मल आवश्यकता पर्ने हुँदा पशु नै मर्न थालेपछि यसको मार किसानलाई नै परेको छ,’ उनले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्