![‘बगानबाट ‘नेक्स्ट लेभल’को प्रतिक्रिया पाएँ, ५० हजार तिराए पनि बालेनसँगै छौं’ [अन्तर्वार्ता]](https://lktcdn2.prixacdn.net/media/Pramila_Bagan1_MhACxC7NQN.png)
म्युजिक भिडियोमा मोडलिङ र टेलिभिजनमा भिजेका रूपमा काम गरिसकेकी प्रमिला कार्कीले ‘बगान’मार्फत फिचर फिल्ममा पाइला राखिन् । पहिलो फिल्ममै नीर शाह, सरोज खनाल, बसुन्धरा भुसाल, मिथिला शर्मा, करिश्मा मानन्धरजस्ता दिग्गज कलाकारहरूसँग ‘स्क्रिन शेयर’ गरिन् ।
फिल्म शुक्रवारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । डेब्यु अभिनेत्री कार्की फिल्मलाई लिएर दर्शकबाट आफूले ‘नेक्स्ट लेभल’को प्रतिक्रिया पाइरहेको बताउँछिन् ।
लोकान्तरसँगको कुराकानीमा यी अभिनेत्रीले अग्रज कलाकारहरूसँग काम गर्दाको अनुभव, आगामी योजनादेखि काठमाडौं महानगरले फिल्मलाई तिराएको जरिवानाका विषयमा समेत धारणा राखेकी छन् ।
तपाईंको पहिलो फिल्म दोस्रो हप्तामा प्रवेश गरेको छ । कस्तो लागिरहेको छ ?
– एकदमै खुशी लागेको छ । हामीले सोचेकोभन्दा बाहिरको माया पाइरहेका छौं । हामीलाई विश्वास छ, दोस्रो हप्तामा पनि धेरैजना दर्शकहरूले हलसम्म आएर हामीलाई हेरिदिनुहुनेछ ।
फिल्मलाई लिएर दर्शकहरूबाट कस्तो ‘रेस्पोन्स’ पाइरहनुभएको छ ?
– ‘रेस्पोन्स’ असाध्यै राम्रो आइरहेको छ । मैले अपेक्षा गरेकोभन्दा ‘नेक्स्ट लेभल’को प्रतिक्रिया पाइरहेको छु । हलबाट बाहिर निस्किने प्रत्येक दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको छ । फिल्म हेरेर हलबाट निस्किनुभएका आमाहरूले मलाई अँगालो हाल्दै के भनिरहनुभएको छ भने, यो समाजका हरेक छोरीहरू अथवा हरेक सन्तानहरू तपाईंजस्तै हुन् भनेर । मैले फिल्ममा प्राप्तीको क्यारेक्टर निर्वाह गरेकी छु, त्यो क्यारेक्टरलाई न्याय गरेको छु भन्ने लागिरहेको छ ।
फिल्ममा नआउँदै यो क्षेत्रलाई लिएर तपाईंको अपेक्षा के थियो ? आइसकेपछि कस्तो पाउनुभयो ?
– मलाई फिल्ममा काम गर्न मन थियो । अथवा कुनै पनि फराकिलो ‘प्लेटफर्म’मा अभिनय गर्न मन थियो । फिल्मलाई लिएर ठ्याक्कै यस्तो भन्ने खालको इमेज चाहिँ मैले बनाएकी थिइनँ र म कुनै पनि कुरालाई लिएर इमेज बनाउँदिनँ । ‘गो विथ द फ्लो’ भन्ने कुरामा विश्वास गर्छु । फिल्मलाई लिएर मैले एउटा इमेज बनाएको भएपछि अर्कै भयो भन्ने लाग्थ्यो होला । अहिले जे भइरहेको छ त्यसमा म ‘इन्जोय’ गरिरहेकी छु ।
मेरो कामलाई दर्शकहरूले कसरी लिनुहुन्छ होला भन्ने एउटा डर चाहिँ मेरो मनमा थियो तर फिल्म रिलिजपछि त्यो डर कहाँ गायब भयो, मलाई थाहा छैन ।
फिल्म हेर्नुभएका दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिनुभएका कारण होला है डर हटेको ?
– सायद ! हाम्रो फिल्म एकैपटक ‘ब्लकबस्टर’ हुने खालको होइन । एकजना दर्शकले आएर फिल्म हेर्नुभयो भने अर्को १० जना दर्शक लिएर आउनुहुन्छ । अथवा, फिल्म हेर्न ‘रिकमेन्ड’ गर्नुहुन्छ । तपाईं जानूस्, यो फिल्म हेर्न जानूस् वा हेर्न लायक फिल्म छ भनेर दर्शकहरूले नै पब्लिसिटी गरिदिनुभएको छ । माउथ पब्लिसिटीका कारण राम्रो हुने भएकाले फिल्म अझै धेरै चल्छ भन्नेमा विश्वस्त छु ।

‘बगान’ रिलिजपछि तपाईंलाई अरु फिल्मबाट पनि अफर आइरहेको होला है ?
– अस्ति भर्खरै पनि एउटा फिल्मबाट अफर आएको थियो । स्क्रिप्ट पनि दिनुभएको थियो तर म के सोचिरहेकी छु भने एकदमै धेरै काम गरिरहनुभन्दा थोरै गरौं, अलिकति ‘प्रोडक्टिभ’ खालको गरौं । किनभने पहिलो फिल्ममै दर्शकले मलाई राम्रो प्रतिक्रिया दिनुभयो । सो कारण आगामी फिल्मलाई लिएर दर्शकको अपेक्षा बढी हुने भयो । धेरैले आगामी फिल्म योभन्दा राम्रो गर्नु है भन्नुभएको छ । त्यसैले अफर आएको फिल्म साइन गरिनँ । अरु १–२ वटा फिल्मबाट पनि कुरा आइरहेको छ ।
अफरहरू आइरहेका रहेछन् । अब फिल्मी यात्रालाई कसरी अगाडि बढाउने सोच्नुभएको छ ?
– पहिले यो फिल्मको सफलतालाई नजिकबाट महसूस गर्न पाइयोस् । कुन लेभलसम्मको दर्शकको माया पाउन सकिन्छ हेरौं । अब फिल्मलाई लिएर ‘वल्र्ड टूर’ गर्ने योजनामा छु । विभिन्न देशहरूमा गएर हामीले फिल्म देखाउने भन्ने योजनामा छौं । सबैभन्दा पहिले हामी फिल्म लिएर अमेरिकाको टूर गर्दैछौं । भारतका धेरै हलहरूमा फिल्म लगाउनका लागि पनि कुरा भइरहेको छ । जहाँ–जहाँ नेपालीहरूको बाहुल्यता छ, ती देशहरूमा हामी पुग्नेछौं । बिस्तारै अन्य फिल्महरूमा पनि अभिनय गर्नेछु । समाजमा सकारात्मक प्रभाव पार्ने खालका फिल्महरू मेरो रोजाइमा पर्नेछन् ।
पहिलो फिल्ममै सिनियर कलाकारहरूसँग काम गर्नुभयो । त्यो अनुभव चाहिँ कस्तो रह्यो ?
– शुरूआती समयमा मलाई एकदमै डर थियो, उहाँहरूजस्तो कलाकारसँग कसरी फेस गर्छु भनेर तर म चाहिँ अभिनय सिकेर आएको भएर र मिडियामा पनि लामो समयदेखि काम गरेकाले एउटा लेभलको कन्फिडेन्ट थियो ।
मैले के सोचे भने उहाँहरूलाई सेटमा देशको ठूलो कलाकार सोच्नुभन्दा पनि मेरो को–एक्टर भनेर सोच्नुपर्छ भन्ने लाग्यो । मैले त्यसरी सोचेकाले आफूलाई कन्भिन्स गर्न पनि सजिलो भयो । अनुभवको कुरा शेयर गर्दा कुनै शब्दमा व्यस्त नगर्ने खालको खुशी मिलेको छ । मेरो यो यात्रा असाध्यै राम्रो भएको छ ।

जथाभावी पोस्टर टाँसेको भनेर तपाईंहरूको फिल्मलाई काठमाडौं महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना तिरायो । यस सन्दर्भमा निर्माता सुरेश वाग्ले र अभिनेत्री करिश्मा मानन्धरले स्टाटसमार्फत कटाक्ष समेत व्यक्त गर्नुभएको थियो । जरिवाना तिर्नुपरेकोमा निर्माण टीमको चित्त दुःखेको हो ?
– निर्माता र करिश्मा दिदीले के सोचेर लेख्नुभयो भन्ने कुरामा त म बोल्न चाहन्न, उहाँहरूको कुरा मलाई थाहा हुँदैछ तर के चाहिँ हो भने बालेनजीको यो अभियानमा हामी जहिले पनि साथमा छौं । हाम्रो फिल्म रिलिज गर्नुभन्दा पहिले पनि हामी आफैंले के भनेका थियौं भने, यसपटक शहरमा पोस्टर नटाँसेर नयाँ कामको शुरूआत हामीबाटै गरौं भनेर छलफल पनि भएको थियो तर वितरकले कहाँ–कहाँ पोस्टर टाँस्नुभयो, हामीलाई पनि थाहा भएन । महानगरबाट फोन गरेर ‘तपाईंहरूले शहरमा पोस्टर टाँस्नुभयो’ भन्नुभयो । मलाई त यसमा खुशी लाग्यो । उहाँहरूले हामीलाई बोलाएर, हामीबाटै यो कामको शुरूआत गरेर, हामीलाई ५० हजार तिराए पनि, हामी नै दण्डित भए पनि यो चाहिँ राम्रो कामको शुरूआत हो भन्ने लाग्यो । हाम्रो फिल्मको सम्पूर्ण टीम पोजेटिभ हुनुहुन्थ्यो, हामीलाई यसमा दुःख लागेन ।
फिल्मलाई ५० हजार तिराएर ५ लाख बराबरको प्रचारप्रसार भयो भन्ने चर्चा पनि चल्यो । जरिवानाले फिल्मको प्रचारमा साँच्चिकै फाइदा पुर्याएको हो र ?
– प्रचारप्रसार आफ्नो हिसाबले भई नै रहेको छ । उक्त कुराले यति बराबरको प्रचारप्रसारभन्दा पनि एक लेभलको चर्चा चाहिँ भयो ।
अन्त्यमा, फिल्म हेर्न नपाउनुभएका दर्शकलाई केही भन्नुहुन्छ ?
– आउनुहोस् हलसम्म, हामी तपाईंहरूलाई निराश बनाउने छैनौं । धेरै पछाडि पारिवारिक फिल्म आएको छ । तपाईंहरूले विभिन्न माध्यमहरूबाट फिल्मका विषयमा कुरा सुनिरहनुभएको छ होला ! धेरै जनाले फिल्मलाई राम्रो भनिरहनुभएको छ ।
राम्रो फिल्म बनाउने कोसिस गरेका छौं । राम्रो अभियान लिएर आएका छौं । यो अभियानमा साथ दिनका लागि तपाईंको पनि दायित्व हुन्छ । मैले झूट नबोलिकन भन्नुपर्दा फिल्म हेरिसकेपछि तपाईंहरूले हामीलाई ‘थ्यांक यू’ भन्नुहुनेछ ।
भिडियो कुराकानी :