
गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्षमा बिनु बस्नेतले आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन्। ३० जुलाईमा हुने नवौं राष्ट्रिय महाधिवेशनमा बस्नेतले आफूलाई स्वतन्त्र उम्मेदवारीको रुपमा खडा गरेकी हुन् ।
“पोर्चुगलमा कामभन्दा धेरै राजनीति भयो, काम गर्नेभन्दा नेतागिरी गर्नेहरूको हालीमुहाली धेरै भयो” बस्नेतले भनिन्, “ म स्वतन्त्र रुपमा नेपाली समुदायको लागि काम गर्न चाहन्छु, अहिलेसम्म मैले गरेको काम सबैले देखेकै छन्।”
युरोपका धेरै देशहरू मध्ये पोर्चुगलमा धेरै नेपालीहरू बस्ने गरेकाले समस्या पनि धेरै भएको उनी बताउँछिन् । राजदूतावास नहुँदा राहदानीलगायतका विषयमा निकै दुःख भोग्नु परेको उनको अनुभव छ। अध्यक्षमा निर्वाचित भएपछि आफूले शुरुमा राहदानी लगायतको समस्याहरूको स्थायी समाधान गर्ने बताइन् ।
एनआरएनए केन्द्रीय समिति विभाजन हुँदा शेष घले नेतृत्वतर्फ पोर्चुगलको वरिष्ठ उपाध्यक्ष बनेर काम गरिसकेकी बस्नेतले विगत ९ वर्षदेखि पोर्चुगलमा व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।
तनहुँ घर भएकी बस्नेतले पोर्चुगलमा रहेर नेपाली समुदायको लागि निकै उल्लेखनीय सहयोग गर्दै आइरहेकी छिन्। पोर्चुगलमा रहेका अधिकांश नेपालीहरूमा हुने कागजी समस्या रहेको र त्यसको समाधान गर्ने आफू लागिपरेको उनको दाबी छ ।
युवाहरूको माझ निकै लोकप्रिय उनले हरेक दिन नेपाली समुदायको लागि सेवा गर्दै आइरहेकी छिन्। शुरुमा उभर चालक र अहिले यातायात व्यवसायीसमेत रहेकी बस्नेत युवाहरूको माझमा लोकप्रिय छिन्।