
परराष्ट्र मन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सत्ता नपाएको झोकमा प्रतिपक्षी पार्टीले विदेश सम्बन्धमा प्रहार गर्ने काम गरेको आरोप लगाएका छन् ।
कांग्रेस केन्द्रीय समितिको पाँचौ दिनको बैठकलाई आइतवार सम्बोधन गर्दै साउदले सत्ताका लागि विपक्षी पार्टीले सेनाजस्तो संस्थामाथि आक्रमण गरेको आरोप लगाएका हुन् । ‘अन्य पार्टीमा गम्भीर रूपमा सत्ताका लागि डेभिएनस विचलन) आएको छ । आर्मीजस्तो संस्थालाई केही पार्टीले आक्रमण गरेका छन्,' उनले भने, 'मुलुकको असंलग्न परराष्ट नीति र विदेशी सम्बन्धमा प्रहार गर्ने काम भएका भएको छ । तर कांग्रेस ठीक ट्रयाकमा छ ।’
साउदले चुनावमा गठबन्धन दलले बहुमत ल्याएको अवस्थामा प्रतिपक्षमा भएका दलले सरकारमा जानको लागि गरेका प्रयत्न गलत भएको बताए ।
मन्त्री साउदले देशमा राजनीतिक स्थिरताका लागि निर्वाचन क्षेत्रलाई समावेशी बनाएर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित गर्ने गरी संविधान संशोधन गर्न कांग्रेसले अग्रसरता लिनुपर्ने बताए ।