०६ असार २०८३, शनिबार

दुई निजी विद्यालयको अनुमति रद्द

साउन ७, २०८०
सुनसरी
दुई निजी विद्यालयको अनुमति रद्द

इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुई निजी विद्यालयको अनुमति रद्द गरेको छ । इटहरी १० मा रहेको इटहरी नमुना स्कुल र ६ नम्बर वडामा रहेको इटहरी चिल्ड्रेन स्कुलको अनुमति रद्द गरिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । 

प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम पटक पटक छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उनले बताए । 

२०८० असार २९ गते बसेको नगर शिक्षा समितिको बैठकले समयमा छात्र वृत्तिको विवरण नबुझाउने विद्यालयको अनुमति रद्द गर्ने निर्णय गरेको थियो । 

गत असार २१ गते बसेको नगर शिक्षा समितिको बैठकले तोकिएको समय सीमा भित्र विवरण नबुझाउने विद्यालयलाई १ लाख जरिवाना तोकेको थियो । जरिवाना नबुझाएपछि उपमहानगरपालिकाले दुई विद्यालयको अनुमति रद्द गरेको हो । 

इटहरी नमुनाले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो ।  उप महानगरपालिकाले अनुमति रद्द गरेको पत्र आइतबार विद्यालयहरुलाई पठाएको छ । 

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी संख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ । नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ । 

नियमानुसार  ५ सय जनासम्म विद्यार्थी सङ्ख्या हुने विद्यालयले १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति दिनुपर्छ । 

 ५ सयदेखि ८ सय जनासम्म विद्यार्थी हुनेले १२ प्रतिशत र ८ सयभन्दा माथि हुनेले १५ प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान छ । बाल कक्षादेखि कक्षा १२ सम्मकै हकमा यो नियमानुसार छात्रवृत्ति दिनुपर्ने हुन्छ । तर निजी विद्यालयहरूले अटेर गर्ने गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्