२९ जेठ २०८३, शुक्रबार

एचसीसीएनको १६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ डीनमा विष्णुकुमार अग्रवाल नियुक्त

साउन ८, २०८०
काठमाडौं
एचसीसीएनको १६औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ डीनमा विष्णुकुमार अग्रवाल नियुक्त

अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को १६औं साधारणसभा तथा चार्टर डे सम्पन्न भएको छ ।

उपराष्ट्रपति रामसाहयप्रसाद यादवको प्रमुख आतिथ्यता तथा परराष्ट्र मन्त्री एनपी साउदको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको साधारणसभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डीनमा नियुक्त गरेको छ ।

उपराष्ट्रपति यादवले कार्यक्रमको उद्‌घाटन गर्दै नेपालको द्वौत्य सम्बन्ध भए पनि आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्‍याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे ।

आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता रहेको उनको भनाइ थियो । ‘यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौं,’ उनले भने, ‘नेपालमा लगानीका सम्भावना भएका क्षेत्रहरू धेरै छन् । विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक छ ।’

त्यसैगरी, परराष्ट्रमन्त्री साउदले एचसीसीएनका सदस्य मुलुकहरूलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिनुपर्ने बताए ।

उनले दौत्य सम्बन्ध कायम भएका देशहरूको प्रतिनिधित्व गर्दै निःस्वार्थ सेवा, नेपालको व्यापार तथा पर्यटन प्रवर्द्धनमा खेलेको भूमिको प्रशंसा गरे  ।  एचसीसीएनका सदस्यहरूबाट प्रदान गर्ने सेवालाई सहज बनाउन पहल गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा एचसीसीएनका डीन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए ।

उनले नेपाल भ्रमणमा रहेका एचसीसीएन सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको जानकारी दिए ।

‘प्रविधि स्थानान्तरण, व्यापार व्यवसाय विस्तार तथा दिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले भूमिका निर्वाह गरिरहेका छौं’ उनले भने, ‘हाम्रो जिम्मेवारी निर्वाह गर्न महत्वपूर्ण सहयोग गर्नु भएकोमा म परराष्ट्र मन्त्रालयलाई आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छौं । हाम्रो निस्वार्थ सेवालाई सहज बनाउन आवश्यक सहयोगका लागि नेपाल सरकारलाई अनुरोध गर्न चाहन्छौं ।’

कार्यक्रममा उपराष्ट्रपतिले एचसीसीएनका पूर्व डीनहरू गजेन्द्रबहादुर श्रेष्ठ, अम्बिका श्रेष्ठ (स्पेन), विनयमान श्रेष्ठ (कोलोम्बो), पद्म ज्योती (साइप्रस), वसन्तराज मिश्र (चिली), श्रीराम लामिछाने (लक्जमवर्ग), राजेन्द्रकुमार खेतान (पोर्चुगल), आङ छिरिङ शेर्पा (बेल्जियम), प्रदीपकुमार श्रेष्ठ (दक्षिण अफ्रिका), वसन्त चौधरी (मोरोक्को) र लोकमान्य गोल्छा (पोल्यान्ड)लाई सम्मान गरेका थिए ।

१६औं साधारणसभाले नयाँ डीनका रुपमा अनररी कन्सुल अग्रवाललाई चयन गरेको छ ।

सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो ।

भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन् । उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वल्र्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै एचसीसीएनका नवनियुक्त डीन अग्रवालले देशलाई आवश्यक परेको समयमा अनररी कन्सुलहरूले व्यक्तिगत स्वार्थबाट माथि उठेर नेपाल र आफूले प्रतिनिधित्व गर्ने मुलुकप्रतिको जिम्मवारीलाई निर्वाह गर्नुपर्ने बताए ।

२०७२ को भूकम्प र कोभिडको महामारीका बेलामा पनि एचसीसीएन सदस्यहरूले आफूले प्रतिनिधित्व गर्ने मुलुकका नागरिकको उद्धार गर्न र सुरक्षित रुपमा आफ्नो मुलुकमा फर्कन मद्दत गरेको उनले उल्लेख गरे ।

‘एचसीसीएनले नेपाल सरकार र सम्बन्धित मुलुकबीच पुलको रुपमा काम गर्दै आएको छ । म परराष्ट्रमन्त्री ज्यूलाई एचसीसीएनलाई परराष्ट्र मन्त्रालयले आफ्नो महत्वपूर्ण अंगका रुपमा लिएर पर्यटन, वैदेशिक लगानी, स्वदेशी उत्पादनको प्रवर्द्धन, द्विपक्षीय सम्बन्धको विस्तारलाई अझ बढावा दिन आग्रह गर्न चाहन्छु ।’ उनले भने ।

नवनियुक्त डीनले निवर्तमान डीन दिनेश श्रेष्ठ र उनको टिमलाई एचसीसीएनको महत्वलाई नयाँ उचाइमा पुर्‍याएकोमा धन्यवाद दिए ।

salt training

कमेन्ट गर्नुहोस्