
नियमित पानी परेसँगै डेङ्गु सङ्क्रमित बढ्न थालेको भन्दै काठमाडौँ महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको छ ।
अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरे ।
अघिल्लो हप्तासम्म यस रोग नियन्त्रणका लागि हप्तामा एक पटकमात्र लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको कामपाले अहिले हरेक दिन यस्ता किसिमका कार्यक्रम गरिरहेको जनाएको छ । अहिले विभिन्न सङ्घसस्था र कामपाको संयुक्त रुपमा पानी जमेको स्थानको खोजी गर्ने र उक्त स्थानमा रहको लामखुट्टेलाई नष्ट गर्ने काम गरिरहेको विभागका प्रमुख पौडेलले जानकारी दिए ।