
सामाजिक सञ्जालमार्फत ‘लभ’ परेर प्रेम विवाह गरेका पतिपत्नीको उमेरको अन्तर ४६ वर्ष थियो । ब्रिटिशकी महिला ८३ वर्षीया आइरिस जोन्स र इजिप्टका पुरुष ३७ वर्षीय मोहम्मद इब्राहिमले गरेको प्रेम विवाह धेरै टिक्न सकेन ।
सन् २०१९ मा अनलाइनमार्फत नजिकिएर विवाह गरेका दुवैले यतिबेला सम्बन्धविच्छेद गरिसकेका छन् ।
सामाजिक सञ्जालमार्फत परिचय भएपछि प्रेममा परेर महिला आइरिस मोहम्मदलाई भेट्न इजिप्ट पुगेकी थिइन् । अनि १ वर्षपछि विवाह पनि गरे । दुवैले इजिप्टको शहर शर्म अल–शेखमा हनिमुन मनाएका थिए ।
वैवाहिक सम्बन्ध अगाडि बढ्न नसक्ने भएपछि अब सम्बन्धविच्छेद गरिएको आइरिसले बताएकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको वैवाहिक जीवन २ वर्षसम्म चल्यो ।
उनले भनिन्, ‘मलाई मोहम्मद मन परेकै थिए तर मुस्किल अवस्था पनि आयो । हामी प्रेम गर्दागर्दै पनि हरेक कुराको अन्तिममा झगडा गर्न थाल्यौं, हरेकपल्ट । म प्रेममा पागल टिनेजर होइन, म ८० वर्ष काटेकी महिला हुँ ।’
सम्बन्धविच्छेदको पीडा कम गर्न आफूले बिरालोको सहारा लिएको उनले बताइन् । उनले भनिन्, ‘मैले अब आफूसँग बिरालो राख्ने निर्णय गरेकी छु, बिरालो मेरो राम्रो साथी साबित भएको छ ।’