
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा समातिएको करीब एक क्विन्टल सुन जोख्ने प्रक्रिया शुरू नभएको पाइएको छ ।
राजस्व अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएर छाडेको उक्त महाशाखाको गोदाममा यत्तिकै थन्किएर बसेको पाइएको हो ।
‘ब्रेक शु’मा लुकाएर ल्याएको सुन समातेर राजस्व अनुसन्धान विभागले आफूहरूलाई जिम्मा लगाए पनि सुन जोख्न औपचारिक पत्र नपठाएकाले त्यसलाई जोख्ने काम नभएको टक्सार महाशाखाले लोकान्तरलाई जानकारी दिएको छ ।
टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार सुन राजस्व अनुसन्धान विभागले लाहाछाप लगाएको अवस्था छ । त्यसलाई खोलेर जोख्न विभागको अनुमति चाहिन्छ ।
‘उक्त सुन जोख्न राजस्वले नै अनुमति दिनुपर्ने हुन्छ । अहिलेसम्म अनुमतिको पत्र आएको छैन,’ आचार्यले भने ।
पत्र प्राप्त भएको एक घण्टामै सुन जोख्न सकिने उनले बताए ।
उनका अनुसार राजस्व अनुसन्धानले समातेको ‘ब्रेक शु’ र सुनसहितको १५५ केजी महाशाखामा सुरक्षित अवस्थामा राखिएको छ ।
यता विभाग स्रोतले भने आफूहरू अनुसन्धानमै रहेको र थप सुन भेटिन सक्ने आशंकामा सुन जोख्न ढिलाइ गरिएको दाबी गरेको छ ।