२१ असार २०८३, आइतबार

बिपी कोइराला क्यान्सर अस्पतालका अध्यक्षलाई आर्थिक अधिकार

साउन १०, २०८०
काठमाडौं
बिपी कोइराला क्यान्सर अस्पतालका अध्यक्षलाई आर्थिक अधिकार

भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त भएपछि आर्थिक अधिकार अध्यक्षलाई दिइएको छ ।

कार्यकारी निर्देशकको अभावमा आर्थिक क्रियाकलाप ठप्प भएपछि अध्यक्ष डा. विजयराज न्यौपानेलाई अधिकार दिइएको हो । अस्पताल सञ्चालक समितिको बैठकले कार्यकारी निर्देशक चयन नहुञ्जेलसम्मका लागि आर्थिक अधिकार अध्यक्ष डा. न्यौपानेलाई दिएको हो ।

अध्यक्ष डा. न्यौपानेका अनुसार कार्यकारी निर्देशक नियुक्ति नहुन्जेलसम्मका लागि कर्मचारी, चिकित्सकको तलब लगायतका भुक्तानी दिनका लागि आर्थिक अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ । अध्यक्ष डा. न्यौपानेले भने, “अल्पकालीन रुपमा दैनिक आर्थिक क्रियाकलाप सञ्चालन गर्न र कर्मचारीलाई तलब खुवाउन बैठकले मलाई आर्थिक अधिकार दिएको छ ।”

समितिमा कार्यकारी निर्देशक सिफारिस समिति गठनका विषयमा छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन । सिफारिस समितिमा कोको रहने भन्ने विषयमा नै कुरा नमिलेपछि बैठकले यस विषयमा ठोस निर्णय गर्न नसकेको हो ।

सञ्चालक समितिले सिफारिस समिति बनाएर सोही समितिले कार्यकारीको नाम सिफारिस गर्ने व्यवस्था रहेको छ । सिफारिस समितिले सिफारिस गरेका नाम मध्येबाट कुनै एक जना व्यक्तिलाई उपयुक्तताका आधारमा कार्यकारी निर्देशकको पदमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।

सिफारिस समितिमा सञ्चालक समितिले तोकेको समितिको सदस्य संयोजक रहने व्यवस्था छ । मनोनीत चिकित्सक सदस्य मध्येबाट एक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट समितिमा प्रतिनिधित्व गर्ने प्रतिनिधि सदस्य रहने छ ।

अस्पतालको कार्यकारी निर्देशकका लागि डा. शिवजी पौडेल, डा. विजय आचार्य र डा. कृष्णसागर शर्मा प्रतिस्पर्धामा रहेका बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्