
कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा आज बिहीवार पनि सुनुवाइ हुने भएको छ ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार सुनुवाइ हुँदाहँुदै नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे ।
कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।