०८ साउन २०८३, शुक्रबार

रसुवागढी नाकामा चहलपहल बढ्यो

साउन ११, २०८०
रसुवा
रसुवागढी नाकामा चहलपहल बढ्यो
प्रतिकात्मक तस्वीर

चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ ।

कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको नाका गत चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेका हुन् । 

नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन शुरू भएको छ । नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नाका पुनः सञ्चालनपछि ५/७ जनादेखि शुरू भएको पर्यटक आवागमन पछिल्लो समय दैनिक सरदरमा २५–३० जना पुगेको छ । अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार चैत १८ गतेदेखि असार मसान्तसम्म २ हजार ८३७ चिनियाँ पर्यटकले रसुवागढी मितेरीपुलबाट ओहोरदोहोर गरिसकेका र साउन महिनामा पनि आफ्ना निजी सवारीसाधनमार्फत चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउनेक्रम जारी रहेको छ ।
        
३ महिना १३ दिनको अवधिमा रसुवागढी नाकाबाट ४६ देशका नागरिकले नेपाल तथा चीनको भूभागमा ओहोरदोहोर गरिसकेको यसरी ओहोरदोहोर गर्नेको कूल संख्या ५ हजार २३६ महिला समेत १० हजार ६७७ जना रहेको बताइएको छ ।
         
कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्यदेशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि त्यस क्षेत्रको रौनकता निकै बढेको छ । पर्यटकको आगमनले सीमा क्षेत्रका वासिन्दामा उत्साह बढ्दै गएको छ ।
         
रसुवागढी नाकाबाट रसुवाका वासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेंसी घुम्न आउने गरेका कारण २ देशको सीमा क्षेत्रमा बसोबास गर्ने छिमेकी छिमेकी बीचको सम्बन्ध समेत थप प्रगाढ बन्दै गएको स्थानीय वासिन्दाले जनाएका छन् । 
       
सीमा क्षेत्रका वासिन्दाका लागि रसुवा–केरूङ ओहोरदोहोर गर्न प्रदान गरेको सीमा परिचयपत्रको विवरण समेत सार्वजनिक भएको छ । गैररसुवालीलाई सीमा क्षेत्रका वासिन्दा सरहको परिचयपत्र दिएको भनी स्थानीयबाट चर्काे विरोध आएपछि वास्तविकतामाथि प्रस्ट पार्दै अध्यागमन कार्यालय टिमुरेले १५० जनालाई परिचयपत्र प्रदान भएको जनाएका छन् ।
 
बसाइँ सरी आएको कागजातका आधारमा गत चैत १८ गतेदेखि असारको पहिलो हप्तासम्म ४१ वटा नयाँ परिचयपत्र जारी भएको, ३३ जनालाई प्रतिलिपि प्रदान गर्नुका साथै ७६ वटा नवीकरण भएको अध्यागमन कार्यालयले जनाएको छ ।
        
विक्रम संवत् २०७२ पश्चात् भेटिएको तथ्यांकअनुसार हालसम्म नयाँ जारी, प्रतिलिपि एवं नवीकरण गरिएको समेत समग्रमा ३ हजार ३३३ जनाले सीमा परिचयपत्रको सुविधा लिएका कार्यालयले जनाएको छ ।
        
भूकम्पकाले रसुवागढीमा रहेको अध्यागन कार्यालय पूरै दबिएका कारण त्यसभन्दा अगाडिका अभिलेख नष्ट भइसकेको जनाइएको छ । रसुवागढी क्षेत्रमा सवारीसाधनको चाप र पर्यटकको आगमन बढेसँगै सुरक्षा कार्यमा थप मजबुत पारिएको सुरक्षाकर्मीले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्