०८ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

बालकृष्ण खाँणबारे चुपचाप कांग्रेस बैठक भ्रष्टाचारको सवालमा निर्मम !

साउन ११, २०८०
काठमाडौं
बालकृष्ण खाँणबारे चुपचाप कांग्रेस बैठक भ्रष्टाचारको सवालमा निर्मम !

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सभापति शेरबहादुर देउवाले बुधबार बैठक समापन भएको घोषणा गरेलगत्तै पार्टी केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत बैठकका निर्णय आधिकारिक रुपमा सार्वजनिक गरेको हो । 

कांग्रेस केन्द्रीय समिति बैठक साउन २ गतेदेखि सुरु भएको थियो । बुधबारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयार्थ प्रस्तुत गरेका प्रस्तावहरु हलले सर्वसम्मतिले पारित गरेसँगै विभिन्न निर्णय गर्दै बैठक समापन भएको हो ।
००००
कांग्रेसले पार्टी संविधानको रक्षा र कार्यान्वयन गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न प्रतिवद्ध रहेको उल्लेख गरेको छ । बैठकले पार्टीका तर्फवाट निर्वाचित सबै तहका जनप्रतिनिधिहरुलाई जनताको अधिकतम हितमा कार्य गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणमा देखिएको बेथिति अन्त्य गर्दै आर्थिक अनियमितताबाट अलग रहन र जनतामा सुशासनको प्रत्याभूति हुने गरि परिचालन गर्ने सङ्कल्प गरेको छ । 

बैठकले हालसालै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिर निस्कँदै गर्दा पक्राउ परेको करिब एक सय किलो सुनको सन्दर्भमा गम्भीरतापूर्वक अनुसन्धान गरी सुन तस्करीमा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।


यसैगरी सांगठनिक सुदृढीकरणका लागि श्रावण २० देखि ३० आन्तरिक, भदौ १० देखि २४ समुदायमा कांग्रेस ‘राष्ट्रव्यापी अभियान’ संचालन गर्ने निर्णय गरिएको छ भने मंसिरमा महासमिति बैठक बोलाउने निर्णय पनि भएको छ । 
गत स्थानीय निर्वाचन र प्रदेश सभा निर्वाचनमा पार्टीका आधिकारिक निर्णय नमानी निर्वाचनमा उम्मेदवार भई विजयी भएका १४ जनाको कार्वाही फुकुवा गर्ने निर्णय पनि कांग्रेसले गरेको छ । 

बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिन्हको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुले संचालन गरेका सामाजिक सञ्जाललाई तत्काल बन्द गर्न सचेत गराएको छ । अन्यथा आवश्यक कार्वाही अगाडि बढाउने लगायतका निर्णय कांग्रेसले गरेको छ ।
००००
कांग्रेसले वर्तमान सत्ता गठबन्धनलाई सुदृढ गर्दै राजनीतिक स्थायित्व कायम गर्ने संकल्प गरेको छ । 
बैठकपछि सार्वजनिक गरिएको १८ बुँदे निर्णयमार्फत कांग्रेसले सत्ता गठबन्धनलाई सुदृढ गर्दै राजनैतिक स्थिरता कायम गर्ने संकल्प लिएको हो । 

‘विशिष्ट परिस्थितिमा विशिष्ट उद्देश्यले बनेको यो सत्ता गठवन्धनलाई सुदृढ गर्दै राजनैतिक स्थिरता कायम गर्नु हामी सबैको दायित्व हो’, कांग्रेसले भनेको छ, ‘यसैको जगमा राष्ट्रपति जस्तो मुलुकको सर्वोच्च पदमा, लोकतन्त्रको लागि लामो समय जेल जीवन बिताउनु भएका, संविधान निर्माणमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका वरिष्ठ राजनीतिज्ञ रामचन्द्र पौडेल नेपालको राष्ट्रपति पदमा निर्वाचन हुनु भएको स्थिति छ ।’
बालकृष्ण खाँणबारे मौन
कांग्रेसको बैठकमा नेता बालकृष्ण खाँणलाई पार्टी केन्द्रीय सदस्यबाट निलम्बन गरिनुपर्ने आवाज उठेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर हाल पुर्पक्षका लागि जेलमा रहेका उनलाई महामन्त्री गगन थापासहितका नेताहरुले निलम्बन गरिनुपर्ने आवाज उठाएपनि सुनुवाइ नभएको हो । जवकि एमालेले सोही प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको थियो । 

यद्यपि कांग्रेसले प्रश्न उठेका व्यक्तिबारे मौनता साँधेर भ्रष्टाचारका सवालमा भने ठूला ठूला कुरा गरेको छ । कांग्रेसको विज्ञप्तिमा सुशासन पार्टीको पहिलो प्राथमिकता भएको उल्लेख छ । 

‘सुशासन र भ्रष्टाचार संगसंगै जान सक्दैन । अर्थात भ्रष्टाचार, अनियमितता र बेथिती निर्मूल नगरी न सुशासन आउँछ’, कांग्रेसले भनेको छ, ‘यी गहन विषयलाई हृदयङ्गम गरि नेपाली कांग्रेसले नै आज भन्दा २१ वर्ष पहिले २०५९ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेको हो भन्ने कुरा स्पष्टै छ । भ्रष्टाचार जघन्य अपराध हो । यसको कुनै जात, धर्म, लिङ्ग, वर्ण, सम्प्रदाय वा राजनैतिक दल हुदैन । जो कोही व्यक्तिले पनि भ्रष्टाचारको कसूर गरे कानून बमोजिम कडा भन्दा कडा दण्डसजाय गरि मुलुकलाई भ्रष्टाचारमुक्त गर्न नेपाली कांग्रेस सदैव प्रतिवद्ध रहदै आएको छ र भविष्यमा पनि रहनेछ ।’

कांग्रेसले विज्ञप्तिमा सरकारले थालेका नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण लगायतका भ्रष्टाचार विरुद्धका कदमहरुमा साथ र समर्थन रहेको बताएपनि बालकृष्ण खाँणबारे भने चुइँक्क नबोलेको हो । बरु कांग्रेसले ‘भ्रष्टाचारका सन्दर्भमा कुनै पनि दोषी नउम्किउन र कोही निर्दोष नफसुन’ भन्ने पार्टीको नीति रहेको जनाएको छ ।
००००
राजधानीको बूढानीलकण्ठबाट एक जना प्रहरी वरिष्ठ हवल्दार पक्राउ परेका छन् । प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत विष्णु सिंहलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित वासिकबाट एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
००००
सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो ।
००००
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुचित व्यापारिक क्रियाकलाप गर्ने एक हजार फर्मलाई कारबाही गरेको छ । 
विभागले गत आर्थिक वर्ष २०७९÷८० को एक वर्षकोे अवधिमा सात सय ९९ वटा व्यापारिक फर्मरकम्पनी तथा उद्योगलाई कारबाहीस्वरुप आर्थिक जरिवाना गरेकोे हो ।
००००
राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट करिब एक क्विन्टल सुन मगाउने कम्पनी ‘रेडी ट्रेड प्रालि’को गोदामबाट केही सामान बरामद गरेको छ । 
विभागका महानिर्देशक नवराज ढुंगानाले रेडी ट्रेडको गोदामबाट दशी प्रमाण संकलनका लागि केही सामानहरू बरामद गरिएको बताए ।
००००
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सरुवा प्रणालीका विद्यमान विकृति अन्त्यको प्रारम्भ गरेका छन् । 
निजामती कर्मचारीहरुको सरुवामा देखिएका विकृति र विसंगति अन्त्य गर्नका लागि मन्त्री मोदीले विभिन्न प्रयास गर्दै आएका छन् । त्यसमध्ये २०८० जेठ २९ गते मन्त्री मोदीको निर्णयमा सरुवालाई व्यवस्थित बनाउनका लागि सहसचिव बलराम रिज्याल संयोजक, सहसचिव हेमराज तामाङ, उपसचिवत्रय मेहन्द्र प्रसाद साँखी, खिलराज राई र कमानसिं थापामगर सदस्य रहेको कार्यदल गठन भएको थियो ।
००००
ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका २२ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।
उनीहरूलाई बुधवार जिल्ला अदालत काठमाडौंमा पेश गरिएकामा अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
००००
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको अनुमानित एक क्विन्टल सुन समातिएपछि नेपालको राजनीति एकाएक तरंगित भएको छ ।
सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभा अवरुद्ध पारेको छ ।
गृहमन्त्रीको राजीनामालाई ुबटमलाइनु बनाउने बताएको एमालेले अहिले उच्चस्तरीय छानबिनको माग गरेको छ । एमालेको अवरोधकै कारण बैठक साउन १५ सम्म स्थगित भएको छ । 
००००
कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट बुधवार पनि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा दुवै पक्षको सुनुवाइ सकिए पनि  आदेश भने नआएको हो । 
००००
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८ दशमलव ११ अङ्कले घटेको छ ।
सोमवार र मङ्गलवार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक बुधबार आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० अङ्कमा पुगेको छ ।
००००
लघुवित्त पीडितहरूले काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् ।
संसद् भवन घेराउ गर्नका लागि उनीहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेका हुन् । उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघु वित्तीय संस्थाहरू खारेज गर, सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, जनवादी अर्थतन्त्रको विकास गर लगायतका नारा लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्