
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट लगायत ७ जनाविरुद्ध विशेष अदालतमा बिहीवार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार नगरपालिकाको ७ र ८ नम्बर वडाको बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत स्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी भ्रष्टाचार गरेको पाइएकाले बिहीवार मुद्दा दायर गरिएको हो ।
आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टविरुद्ध २६ लाख २ हजार ५५६ बराबरको बिगो दाबी गरेको छ । इन्जिनीयर सन्तोष पाण्डेविरुद्ध ११ लाख ३० हजार २७२, तत्कालीन अर्का इन्जिनीयर राजेन्द्रसिंह धामीविरुद्ध १४ लाख ७२ हजार २८३, सबइन्जिनीयर दीपकसिंह विष्टविरुद्ध २६ लाख २ हजार ५५६ बराबरको बिगो दाबी गरेको छ ।
बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध २६ लाख २ हजार ५५६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।