
भन्सार छलेर ल्याइएको बोइलर कुखुरा प्रहरीले नष्ट गरेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट बरामद ६४० ओटा कुखुरा नष्ट गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार शुक्रवार बिहान तिलोत्तमा ११ कालिकास्थानमा सञ्जिव श्रेष्ठले सञ्चालन गरेको फर्मबाट कुखुरा बरामद भएको थियो ।
भारतबाट भन्सार छली अवैध रुपमा भेटनरीविनाका बोइलर कुखुराहरू ल्याएर फर्ममा राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले कुखुरा बरामद गरेको हो ।
बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, भेटनरी डाक्टरलगायतको रोहबरमा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।
उक्त कुखुराको मूल्य अन्दाजी ४ लाख ८० हजार पर्ने प्रहरीले जनाएको छ । फर्म सञ्चालक श्रेष्ठलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, बुटवलमा पठाइएका प्रहरी नायव उपरीक्षक थापाले बताए ।