
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेललाई भारतमा गराएको उपचार खर्च दिने सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने ठहर गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एक इजलासले अधिवक्ता विष्णुकुमार गिरीले पेस गरेको रिट निवेदन दरपिठ गर्ने सर्वोच्च अदालतकी रजिस्ट्रार निर्मला पौडेलको यसअघिको आदेश बदर गर्दै सरकारको निर्णय अदालतले परीक्षण गर्न सक्ने ठहर गरेको हो ।
००००
रेडी ट्रेड प्रालिको गोदामबाट बरामद भएको ६६ कार्टुन ब्रेक प्याडभित्र राखिएको सामान सुन नभएर फलाम रहेको पुष्टि भएको छ ।
राजश्व अनुसन्धान विभागले रेडी ट्रेडको गोदाममा छापा मारी सुन गाल्ने र जोख्ने उपकरण सहित ६६ कार्टुन खोलिएको अवस्थामा ब्रेकप्याड बरामद गरेको थियो ।
सोही ब्रेक प्याडभित्र कुन धातु प्रयोग गरिएको हो भन्ने परीक्षणका लागि राजश्व अनुसन्धान विभागले भन्सार विभागलाई परीक्षण गर्नका लागि स्याम्पल पठाएको थियो ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपियन श्रम गन्तव्य मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको छ ।
मन्त्रालयले प्रेस विज्ञप्तीमार्फत आकर्षक सेवा, सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपियन श्रम गन्तव्य मुलुकमा रोजगारी दिने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिँदै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न सुझाव दिएको हो ।
००००
थाइल्यान्ड र म्यानमारमा सूचना प्रविधि (आईटी) क्षेत्रमा आकर्षक रोजगारी तथा तलब, सुविधाको प्रलोभन देखाई नेपालीहरूलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगी बन्दी बनाई अवैध काम गर्न बाध्य बनाउने गरेको पाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
००००
विवादास्पद अभिव्यक्तिपछि अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
००००
संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्था तैनाथ नेपाली शान्ति शैनिकको मृत्यु भएको छ ।
शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार राम बहादुर बाँठाको साउन ११ गते मृत्यु भएको हो ।
००००
हवाई यातायातमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी सरकारी व्यवस्थामा निजी क्षेत्रको असन्तुष्टिले कार्यान्वयनमा अन्योलता देखिएको छ । सरकारले २०८०–०८१ को आर्थिक ऐनमार्फत हवाई टिकटमा भ्याट लगाएको छ ।
भ्याट लागेको ३० दिनपछि अनिवार्य कार्यान्वयन गराउनुपर्ने व्यवस्था मूल्य अभिवृद्धि कर ऐन २०५२ मा छ । कानूनी व्यवस्थाअनुसार असार १६ गतेबाटै सरकारले लगाएको हवाई टिकटको भ्याट कार्यान्वयन हुनुपर्ने भए पनि साउनको दोस्रो हप्ता बितिसक्दा समेत सरकार र निजी क्षेत्र विवाद गरेर बसिरहेका छन् ।
००००
विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको एकीकृत परिपत्र २०७९ (सर्कुलर) मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
००००
यसैगरी बैंक तथा वित्तीय संस्थाले एकमुस्ट वा छुट्टाछुट्टै रुपमा रु २५ लाख वा सोभन्दा बढी कर्जा प्रवाह गर्नुपरेमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसअघि रु ५० लाख वा सोभन्दा बढीको कर्जामा प्यान अनिवार्य थियो ।
यसैगरी नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिम भारसम्बन्धी विद्यमान व्यवस्थामा संशोधन पनि गरेको छ ।
००००
नेपाली सेनाको निमित्त प्रवक्ताको जिम्मेवारी महासेनानी अशोक गुरुङले पाएका छन् ।
हालका प्रवक्ता कृष्णप्रसाद भण्डारी काम विशेषले कार्यक्रममा सहभागी हुन विदेश जाने भएकाले केही समयका लागि महासेनानी गुरुङले निमित्त प्रवक्ताका रुपमा आजदेखि कार्यभार सम्हालेका हुन् ।
००००
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । सर्वोच्चको आदेशानुसार शुक्रवार उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले साउन १६ गते अपराह्न ५ बजेम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् ।
दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रवार प्रमाणीकरण गरेको हुन् ।
००००
काठमाडौं महागरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
महानगर प्रहरीले कार्यालय भवन अवैध भएको भन्दै आगामी सोमवारसम्म खाली गर्न निर्देशन दिएको हो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिनअघि गएका प्रधानमन्त्री प्रचण्ड शुक्रवार स्वदेश फर्किएका हुन् ।