
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र कमिसनखोरलाई कानूनी दायरामा ल्याएर मात्रै सहिदको सपना पूरा हुनसक्ने बताएका छन् ।
शनिवार बिहान राष्ट्रिय सहिद तथा शान्ति पार्क जगडोलमा सहिद स्मारकको अवलोकन गर्दै उनले पद प्रयोग गरेर निहित स्वार्थ अनुकूल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गरेर मात्रै सहिदको सपना पूरा हुने बताएका हुन् ।
मन्त्री श्रेष्ठले सुशासन र आर्थिक-सामाजिक समृद्धि नै सहिदहरूप्रतिको सच्चा सम्मान तथा श्रद्धा हुने बताए ।

सरकारले शुरू गरेको भ्रष्टाचारविरोधी अभियानमा सबैको सहयोग जरुरी भएको उनको भनाइ छ । 'जो-जो दोषी वा अपराधी छ्न्, तिनलाई कारवाही गरिन्छ नै,' उनले भने ।
उनले सहिद स्मारकमा माल्यार्पण गर्नुका साथै फलफूललगायत वृक्षारोपणसमेत गरेका छन् । 'यो सहिद पार्क देशमा कसरी राजनीतिक परिवर्तन भयो भनेर शिक्षा लिने ठाउँ हो,' उनले भने, 'छुटेका सबै सहिद र बेपत्ता बनाइएका सबै योद्धालाई समेटेर स्तम्भ निर्माण गर्न सबै निकायको सहयोग जरुरी छ। सरकारले यसमा हरतरहले सहयोग गर्नेछ।'

महान सहिदहरू र बेपत्ता योद्धाले ऐतिहासिक राजनीति परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको स्मरण गर्दै उनले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्ने बताए ।